पुस–१८, स्थानीयबासीले अवरोध पु¥याएपछि रसुवा–कालापानी–खोटाङबजार सडक सर्वेक्षणको काम रोकिएको छ । स्वीस सरकारको अनुदानमा सञ्चालित जिल्ला सडक सहयोग कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको सडक सर्वेक्षण चरणमै अवरोध पु¥याएपछि उक्त सडक निर्माणको काम रोकिएको हो ।
जिल्लास्थित सर्वदलीय बैठकको निर्णयपछि जिल्ला विकास समितिले सिफारिस गरेको रसुवा–कालापानी–खोटाङबजार सडक स्थानीयबासीको बस्ती छाडेर खेत तथा जंगलतिर लगिएको भन्दै सर्वेक्षणको काममा अवरोध पु¥याएका हुन् । उनीहरुले आफ्नो बस्ती भएको ठाउँबाट सडक सर्वेक्षण गर्नु पर्ने माग गर्दै आएका छन् । 
स्थानीयले सर्वेक्षणमा खटिएका स्वीस सरकारका जिल्ला सडक सहयोग कार्यक्रमका प्राविधिक टोलीलाई पुस–२ गते अवरोध पु¥याएको स्थानीय विकास अधिकारी युवराज अधिकारीको सुनाउनुभयो । उहाँका अनुसार यो सडक खण्डमा लामो समयदेखि विवाद रहेको र पटक–पटकको छलफलपछि सहमती जुटे पनि सर्वेक्षणमा अवरोध पु¥याएको हो ।
‘अवरोधबारे पटक–पटक छलफल र सहमती भएको छ ।’ स्थानीय विकास अधिकारीले भन्नुभयो–‘त्यसैको आधारमा प्राविधिक खटाउँदा अवरोध पु¥याए ।’ यो सडकमा साउन अन्तिम सातादेखि विवाद सुरु भएपछि सर्वेक्षण हुन सकेको थिएन । 
सहमति जुटेपछि पछिल्लो समयमा मङसिर २६ गते सर्वेक्षणमा प्राविधिक खटिएका थिए । करिब १५ किलोमिटर सडकका लागि स्वीसले झण्डै २४ करोड लगानी गर्ने जनाएको अधिकारीले बताए । 
त्यहाँका राजनीतिक दलका नेताहरूको घरपायकमा सडक नपुगेकाले अवरोध पु¥याएको जिल्ला विकास समितिको आरोप छ । ती मध्ये पूर्व जिविस सभापति परशुराम कार्की, एमाओवादीका स्थानीय नेता दीपबहादुर थापा, राजनप्रसाद ढकाल लगायतले आफ्नो क्षेत्रमा सडक नपुग्ने भएपछि स्थानीय जनतालाई उचालेर अवरोध पु¥याएको जिल्लास्थित एक उच्च ओहदाका कर्मचारीले बताउनुभयो । 
यद्यपि ती नेताहरूमध्ये पूर्व जिविस सभापति परशुराम कार्कीले भने आफूहरूले जनतालाई नउचालेको बताउनुभयो । कार्कीले भन्नुभयो– ‘हामी बरु सहमतिको पक्षमा छौं, कसरी जनतालाई उचाल्छौं ?’ 
जिल्लास्थित नागरिक समाजका प्रतिनिधिहरूले राजनीतिक दलसम्वद्धको संकीर्ण सोचले सडक सर्वेक्षणमा अवरोध पुगेकोप्रति गुनासो गरेका छन् । २०६९ असोज २९ को सर्वदलीय बैठकले यो सडक खण्ड लगायतका सडकलाई प्राथमिकतामा राखेर स्वीस र सरकारलाई सहयोग माग गरिएको थियो ।