पुस–१९, स्थानीय शान्ति समिति खोटाङले द्वन्द्व पीडितलाई लक्षित गर्दै लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाका द्वन्द्व पीडित सर्वसाधारणको उत्थानका लागि शान्ति समितिले लोकसेवा आयोग अन्तर्गत खरिदार पदको तयारी कक्षा सञ्चालनको तयारी गरेको हो । 
लोकसेवा आयोगको तयारी कक्षामा जिल्लाका द्वन्द्व पीडित, अपाङ्ग तथा दलितलाई निशुल्क कक्षा दिइने स्थानीय शान्ति समिति खोटाङका संयोजक राम दंगालले बताउनुभयो । शान्ति समितिको बार्षिक कार्यक्रमको तयारीकालागि बिहीबार आयोजना गरिएको बैठकले द्वन्द्व पीडितलाई लक्षित गर्दै वर्कशप, व्यूटिसियन, मोवाइल मर्मत तथा होटल व्यवस्थापन तालिम समेत सञ्चालन गर्ने निर्णय गरेको छ । 
यस्तै, शान्ति समितिले सशस्त्र द्वन्द्वको समयमा ज्यान गुमाएका जिल्लाका राजनैतिक कार्यकर्ता तथा सर्वसाधारणको तस्वीर अंकित भित्ते–पात्रो प्रकाशनको तयारी गरेको छ । बैठकमा स्थानीय एफएमबाट ‘शान्ति सन्देश’ नामक रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने र स्थानीय पत्रपत्रिकाबाट शान्ति सन्देशमूलक सूचनाहरु प्रकाशन गर्ने निर्णय भएको छ । 
यस्तै, समितिका पदाधिकारीकालागि क्षमता अभिवृद्धि तालिम सञ्चालनका लागि शान्ति मन्त्रालयमा निवेदन गर्ने, विकास निर्माणका क्षेत्रमा समन्वयकारी भूमीका निभाउने लगायतका निर्णय भएको संयोजक दंगालको भनाइ छ । कर्मचारी मिलन केन्द्रको प्रांगणमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, प्रशासन तथा सुरक्षा निकायका प्रमुख, समितिका पदाधिकारी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।