पुस–२१, स्थानीयबासीले खोटाङ र ओखलढुंगाको सीमानामा पर्ने जयरामघाटस्थित दूधकोशीको बेलिब्रिज जडान कार्य तत्काल पूरा गर्न र सञ्चालनमा ल्याउन दवावमूलक कार्यक्रम गर्ने भएको छ । बाहुनीडाँडा र डिकुवाका स्थानीय क्लव, सर्वसाधारण र व्यवसायीको शनिबार जयरामघाटमा बसेको भेलाले बेलिब्रिज जडान कार्य पूरा गर्न र सञ्चालनमा ल्याउनका लागि दवावमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । 
स्थानीय क्लवका पदाधिकारी, यातायात व्यवसायी, होटल व्यवसायी र स्थानीयबासी सम्मिलित बैठकले बेलिब्रिज सञ्चालनमा ल्याउनका लागि दवावमूलक कार्यक्रम गर्ने निर्णय गरेको जनशान्ति युवा क्लव डिकुवाका अध्यक्ष सम्बर राईले जानकारी दिनुभयो । जयरामघाटमा जडान भइरहेको बेलिब्रिज उदयपुर र ओखलढुंगाको सीमानामा पर्ने हर्कपुरस्थित सुनकोशीमा लैजाने तयारी गरेपछि जयरामघाटमा जडान कार्य हप्ता दिनदेखि ठप्प बनेको छ । 
सुनकोशीको बेलिब्रिज जडानकाक्रममा अघिल्लो शनिबार भाँचिएर नदीमा खसेपछि सडक विभागले दूधकोशीको बेलिब्रिज सुनकोशीमा सार्ने तयारी गरेको थियो । सार्ने चर्चासँगै बेलिब्रिज जडानका कामलाई तत्काल पूरा गर्न र सञ्चालनमा ल्याउनुपर्ने स्थानीयबासीको माग छ ।
सुनकोशीमा सार्नकालागि बेलिब्रिजको नट बोल्ट खोल्न आएका टोलीलाई समेत उनीहरुले फर्काइदिएका थिए । निर्माणाधिन अस्थायी बेलिब्रिज सुनकोशीमा सार्ने तयारी भएलगत्तै जिल्लामा चौतर्फी भएको थियो । 
दूधकोशीको बेलिब्रिज लैजानुको सट्टा अन्य ठाउँको बेलिब्रिज ल्याएर सुनकोशीको अधुरो बेलिब्रिज पूरा गर्नुपर्ने उनीहरुको भनाई छ ।