पुस–२१, किरात राईको मिथक र इतिहासमा आधारित साँस्कृतिक–सांगीतिक भिडियो संग्रह ‘लिम्चिङ बुङ’को विमोचन एवम् विशेष प्रदर्शन गरिएको छ । किरात राई साँस्कृतिक कलाकार संघ ललितपुरले निर्माण गरेको साँस्कृतिक भिडियो सङ्ग्रह शनिबार ललितपुरमा विमोचन एवम् विशेष प्रदर्शन गरिएको हो । 
किराती मिथक र इतिहासमा आधारित ७ वटा गीतहरुको भिडियो सङ्ग्रह ललितपुर जिल्ला विकास समितिको हलमा राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाले विमोचन गर्नुभयो । खोटाङ, ओखलढुंगा, सिन्धुली, रामेछाप, भोजपुर, उदयपुर, सिरहा, ललितपुर लगायतका जिल्लाका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियो सङ्ग्रहमा किरात राईको मौलिक परम्परा, संस्कार संस्कृति, इतिहास, जीवनशैली लगायतका विषयवस्तु समेटिएको देख्न सकिन्छ । 
जनक राई, भुपेन्द्र पुमा राई र रोशन राईको निर्देशनमा तयार पारिएको साँस्कृतिक तथा सांगीतिक भिडियो संग्रहमा संगीतकर्मी जितेन राई, सुमन राई, रेवत राई, पदम राई, इन्द्रकला राई, मृज्ञान राई र जानुका राईका स्वर सुन्न पाइन्छ । भिडियो संग्रहमा चतुरभक्त राई,  खुक्सङ खम्बु, निरबहादुर राई, मृज्ञान राई, मुकेश राई र निराजन बतासको रचना समेटिएका छन् भने, संगीतकार शान्तिराम राई, जितेन राई, निरबहादुर राई, रेवत राई र सुमन राईको संगीत रहेको छ । 
भिडियो सङ्ग्रह विमोचन कार्यक्रममा किरात राई साँस्कृतिक कलाकार संघले एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको भिडियो संग्रहका निर्देशक एवं संघका अध्यक्ष रोशन राईले जानकारी दिनुभयो । अक्षय कोषका लागि कार्यक्रममै करिब ५० हजार रकम जम्मा भएको कलाकार संघले जनाएको छ ।