पुस–२१, यस वर्ष खोटाङबाट २५ करोड भन्दा बढीको अलैची निकासी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको बाँझेच्यानडाँडा, फेदी, पाथेका, बाक्सिला, ऐसेलुखर्क, जालपा, खार्मी लगायतका गाविसबाट अलैची निकासी भएको हो ।
यस वर्ष प्रतिमन ६८ हजारदेखि ७४ हजार रूपैयाँसम्ममा बिक्री भएको बाँझेच्यानडाँका अलैची व्यवसायी सङ्ग्राम राईले बताउनुभयो । उहाँका अनुसार पोहोरको तुलनामा अलैची उत्पादनमा वृद्धि हुनुका साथै मुल्य पनि बढेको छ । 
गत वर्ष अलैचीको मुल्य प्रतिमन ५० हजारदेखि ६३ हजार रूपैयाँसम्ममा बिक्री भएको थियो  । यस वर्ष अलैचीका लागि उल्लेख्य मात्रामा पैसा जिल्ला भित्रिएको र बैंक तथा रेमिट्यान्स् कम्पनीहरूले धान्नै नसकेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैजूले बताउनुभयो । 
यो वर्ष खोटाङका अलैची व्यवसायीले सदरमुकाम दिक्तेलमा एक सातासम्म पर्खेर पैसा लगेको व्यवसायी सङ्ग्राम राईले बताउनुभयो । यस वर्ष बाँझेच्यानडाँडा गाविसका किसानले मात्र अलैचीबाट तीन करोड रूपैयाँ हात पारेका छन् । व्यवसायी राईले भन्नुभयो– ‘यसपालि हाम्रो परिवारले मात्र १८ लाख रूपैयाँको अलैची बेचियो, त्यो पनि घरैमा ठेकेदार आए, सस्तैमा बेचियो ।’ 
पूर्वी क्षेत्रको अलैची घरान, धनकुटा, झापाको बिर्तामोड हुदै भारत लगिन्छ । त्यस्तै उत्तरी गाविस फेदी लगायतका क्षेत्रबाट चार करोड रूपैयाँको अलैची निकासी भएको छ । यस क्ष्ँेत्रको अलैची भोजपुर, धनकुटा हुदै घरान, धनकुटा, झापाको बिर्तामोड हुदै भारत नै लगिन्छ । 
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका ३४ गाविसमा अलैची उत्पादन हुन्छ । ‘खोटाङ पानीको राम्रो स्रोत भएकाले खोटाङ जिल्ला अलैची उत्पादनका लागि राम्रो सम्भावना देखिन्छ ।’ राईले भन्नुभयो– ‘खेती लगाउने हो भने अहिले पनि जिल्लाको ६४ गाविसमा अलैची खेती गर्न सकिन्छ ।’
अलैची खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यसप्रति किसानहरू आकर्षित भएका छन् । अलैची लिन घरैमा आउने भएकाले जिल्लाका किसानले बजार खोजीको झन्जट लिनु परेको छैन । तर, बजारसम्म पु¥याउने ठेकेदारले ठूलो रकम फाइदा लिने गरेको अलैची व्यवसायी संघका अध्यक्ष वीरबहादुर तामाङले बताउनुभयो । खोटाङबाट लगिएको अलैची प्रतिमन ८०–९० हजार रूपैयाँमा बिक्री हुने तामाङको भनाइ छ । 
यस वर्षदेखि नेपालको अलैची १५ मुलुकले माग गरेकाले पनि किसान अलैची खेती तर्फ आकर्षित भएको व्यवसायी राईले सुनाउनुभयो । उहाँका अनुसार भारत, अमेरिका, स्वीजरल्याण्ड, थाइल्याण्ड, सिंगापुर, जापान लगायतका मुलुकमा माग भएको छ । 
खोटाङ जिल्लाबाट यतिधेरै अलैची उत्पादन गरिए पनि झापाको नाकाबाट बाहिर निकासी गरिने भएकाले उत्पत्तिको प्रमाणपत्र झापाकै हुने र त्यसको कर पनि झापाकै वाणिज्य संघले लिने गरेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैजूले बताए । अलैची निकासी वापत एक प्रतिशतका दरले उद्योग वाणिज्य संघ झापाले रकम लिने गरेको अध्यक्ष सैजूले बताउनुभयो ।