पुस–२२, खोटाङका आगलागी पीडित परिवारलाई घर छाउने जस्तापाता प्रदान गरिएको छ । दीपावली गर्नेक्रममा दुई महिनाअघि भएको आगलागीबाट घर तथा सम्पत्ति गुमाएर विचल्नीमा परेका लफ्याङ–९ का कुलबहादुर कट्वालको परिवारलाई घर छाउने एक बण्डल जस्तापाता सहयोगस्वरुप प्रदान गरिएको हो । 

आगलागीपछि आफन्तको घरमा आश्रय लिएर बसिरहेका कट्वाल परिवारलाई नेकपा एमाले गाउँ कमिटि लफ्याङले आईतबार जस्तापाता प्रदान गरेको हो । आगलागीपछि मर्मत भइरहेको घर छाउनका लागि कट्वाल परिवारलाई जस्तापाता प्रदान गरिएको अनेरास्ववियु खोटाङका अध्यक्ष शम्भू घिमिरेले जानकारी दिनुभयो । 

गाउँ कमिटि अध्यक्ष गोबिन्द बास्तोलाले अग्निपीडित परिवारलाईजस्ता हस्तान्तरण गरेका हुन् । दीपावली गर्नेक्रममा गत कार्तिक–१७ गते राती मैनबत्तीबाट सल्किएको आगलागीबाट कट्वालको तीन तले घर, नगद ७० हजार नगद, ४ तोला सुन, एक थान ल्यापटप, टेलिभिजन, अन्न, लत्ताकपडा, घर बनाउनकालागि राखिएको ४ लाख बराबरको काठ, २० थान कोरियन कम्मल, दुवईकालागि भिसा सहितको पासपोर्ट र प्लेन टिकट जल्दा २० लाख बराबरको क्षति भएको थियो । आगलागीबाट कट्वालका ६ जनाको परिवार बिचल्नीमा परेका छन् । 

अग्नि पीडित परिवारको दैनिक जीवनयापनकालागि गत मंसिर १३ गते खोटाङ कुवेत सम्पर्क मञ्चले ५० हजार १०५ रुपैयाँ आर्थिक सहयोग गरेको थियो । एमाले सचिवालय सदस्य भागवत घिमिरे लगायतको उपस्थितिमा अग्निपीडित परिवालाई जस्ता हस्तान्तरण गरिएको हो ।