काठमाडौं । दुर्छिम–४ खोटाङका चेतुविकल चाम्लिङ पहिलोपटक सीडब्लु रेष्टुरेन्ट छिरे । खोटाङबाट आएका राई काठमाडौंको कमलादीमा रहेको सो रेष्टुरेन्टमा खानपिनका लागि भने छिरेका होइनन् ।
आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ नेपाल (एनजीओफोनिन) द्वारा सञ्चालित एकदिने प्रशिक्षण कार्यक्रममा सहभागी चाम्लिङले सरकारी स्रोतअन्तर्गत जिल्ला विकास समिति र सोअन्तर्गतको वार्षिक बजेट कसरी तयार पारिन्छ ? वार्षिक कार्ययोजना कसरी कार्यान्वयन गरिँदोरहेछ भनेर बुभ्mने अवसर पाए । त्यतिमात्रै होइन, उनले संस्कृति मन्त्रालयको वार्षिक बजेट कसरी तयार पारिन्छ भन्ने विषयमा पनि थाहा पाए । कार्यक्रममा सो बजेट कहाँ–कहाँ र कुन–कुन शीर्षकमा कसरी खर्च गरिन्छ भनेर जानकारी गराइएको थियो ।
यसअघि यस्तो कार्यक्रममा कहिल्यै सहभागी हुने मौका नमिलेको बताउने कार्यक्रममा सहभागीलाई बजेट तयार गर्दा को–कोसँग छलफल गरिन्छ अनि विनियोजित बजेट कसरी सम्बन्धित समुदायसम्म पुग्छ र त्यसलाई पारदर्शी ढंगले विनियोजन गरिएको छ कि छैन भनेर कार्यक्रममा प्रश्न सोधिएको थियो । उत्तरमा चेतुविकल चाम्लिङको भनाइ थियो, ‘सम्बन्धित जिल्लाका सम्बन्धित गाविसले गाविसस्तरको बजेट बनाउनुअघि र विनियोजन गर्दा कहिल्यै गाउँ र वडास्तरका स्थानीयलाई जानकारी गराइँदैन ।’ खासमा बजेट बनाउँदा गाउँ हुँदै वडास्तरमा छलफल भइसकेपछि मात्रै गाविसको बजेट बनाउनुपर्ने हुन्छ । तर, कहिल्यै त्यसो नगरिने चाम्लिङको जिकिर थियो । 
चाम्लिङको भनाइ सकिएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय तथा संस्कृति महाशाखा उपसचिव जयराम श्रेष्ठले सहभागीलाई अनुरोध गरे, ‘स्थानीयस्तरमा बजेट तयार पार्न स्थानीय नै सचेत भएर लाग्नुपर्छ । बजेट खोज्नुपर्छ । अनि राज्यले सोहीअनुसार बजेट विनियोजन गर्छ । उनीहरूले खोजेनन् भने स्थानीय राजनीतिक दलकै हालीमुहाली हुन्छ ।’
पाँचथर, रविका देवेन्द्र खालिङलाई प्रशिक्षण कार्यक्रमले धेरै विषयमा सचेत रहन मद्दत पु¥यायो । सरकारले वार्षिक बजेट तयार पार्दा गाउँदेखि वडा, गाविस, जिविस हुँदै १४ तहमा छलफल गर्नुपर्दाेरहेछ । १४ तहमा छलफल गरी निष्कर्षमा पुगेको बजेट बजेट भाषण भएपछि मात्रै कार्यान्वयन गरिँदोरहेछ भनेर खालिङले जानकारी पाए । उनको दुःखेसो थियो, ‘तर, मेरो गाविसमा गाउँ र वडास्तरमा छलफल नै नगरी सिधै गाविसस्तरमा मात्रै छलफल गर्ने गरिन्छ । छलफलमा गाविसका विभिन्न राजनीतिक दल र सम्बन्धित गाविसका विभिन्न संघ–संस्थाका प्रनिनिधिलाई मात्रै बोलाइन्छ । त्यसो गर्दा गाउँ र वडास्तरको वास्तविकता कहिल्यै सम्बोधन हुँदैन ।’
आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ नेपाल (एनजीओफोनिन) द्वारा आदिवासी जनजाति युवालाई लक्षित गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । युवावर्गलाई लक्षित गरी सञ्चालित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय तथा संस्कृति महाशाखा उपसचिव जयराम श्रेष्ठ र काठमाडौँ जिविस कार्यक्रम अधिकृत दीपक केसीले कार्यपत्र प्रतुत गरेका थिए । उपसचिव श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, संस्कृति महाशाखाद्वारा वार्षिक रूपमा सञ्चालित कार्यक्रम र भावी कार्ययोजना र केसीले युवा तथा खेलकुद मन्त्रालय, जिविसमार्फत सञ्चालित युवा साझेदारी कार्यक्रम र जिविसको बजेट तथा कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । एनजिओफोनिन परियोजना संयोजक राजुविक्रम चाम्लिङद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता महासचिव रत्न कुलुङले गरेका थिए । कार्यक्रममा एनजिओफोनिनका सदस्य संस्थामार्फत प्रतिनिधित्व गराइएको थियो । कार्यक्रममा लोपोन्मुखदेखि उन्नत समूहका ४४ आदिवासी जनजाति युवाको प्रतिनिधित्व रहेको थियो ।