पुस–२८, जालसाझी गरेर अन्यत्र बेचिएको जग्गा १८ दिनपछि वास्तबिक जग्गा धनीकै नाममा फिर्ता भएको छ । खोटाङको सल्ले–३ की हीराकुमारी पोखरेलको नाममा रहेको जग्गा अर्कै व्यक्तिले बेचिदिएको १८ दिनपछि पुनः पोखरेलकै नाममा कायम गरिएको हो । 
कुभिण्डे–६ की लीलाकुमारी पोखरेलद्वारा बेचिएको सदरमुकाम दिक्तेल–३ मा रहेको कित्ता नम्बर–१४३२ र १४३३ को आफ्नो जग्गा जिल्ला मालपोत कार्यालय खोटाङमार्फत पुनः आफ्नै नाममा कायम गरिदिएको हिराकुमारीले बताउनुभयो । लीलाकुमारीले १४ वर्षअघि हिराकुमारीलाई बेचेको जग्गा जालसाँझी गर्दै पुनः आफ्नै छोरी ओखलढुङ्गा प्राप्चा–६ की शोभिता दाहाललाई बिक्री गरेको खुलासा भएको थियो । 
उनले मालपोत कार्यालयबाट २०५६ साल मंसिर–७ गते हीराकुमारीलाई बिक्री गरेको जग्गा गत पुस–९ गते आफ्नै छोरी शोभिताको नाममा रजिष्ट्रेशन पास गरिदिएकी थिइन् । आफ्नो नामको जग्गा अन्यत्र बेचिएको खुलासा भएपछि हिराकुमारीले आफ्नो जग्गा आफ्नै नाममा कायम गर्न माग गर्दै पुस–१६ गते जिल्ला मालपोत कार्यालयमा उजुरी दिनुभएको थियो । 
जग्गाको लालपूर्जा तथा राजीनामा पास गरेको कागजपत्रसहित अर्को व्यक्तिको नाममा भएको जग्गाको पास बद्दर गर्न तथा जालसाँझी गर्नेलाई कानूनी कारबाहीको माग सहित उजुरी परेपछि लिलाकुमारी र शोभितालाई झिकाएर हिराकुमारीकै नाममा जग्गा लिखत पास गरिएको मालपोत अधिकृत बिनोद गेलालले बताउनुभयो । शोभिताको नाममा गएको जग्गालाई बदर गर्दै पुनः हिराकुमारीको नाममा जग्गा कायम गरिएको हो । 
द्व्रन्द्वको समयमा कार्यालयमा भएका जग्गाको सम्पूर्ण श्रेस्ता जलेकाले समस्या आएको मालपोत कार्यालयले जनाएको छ । नापी कार्यालयले उपलब्ध गराएको फिल्ड बुक उतार पत्र र व्यक्तिसँग भएको कागजातको आधारमा काम गर्दा यस्तो समस्या आएको गेलालको भनाइ छ ।