माघ–१, तीन जिल्लाका लागि विद्युत विस्तार गर्ने उद्देश्यले निर्माण कार्य शुरु गरिएको खोटाङको बुइपास्थित सवस्टेशन अलपत्र बनेको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्वुलाई लक्षित गरी एघार वर्षअघि निर्माण कार्य सुरु गरिएको सवस्टेशन अलपत्र बनेको हो । 
दुई वर्षभित्रमा काम सक्ने जिम्मा लिएको हुलास स्टील कम्पनीले एघार वर्षमा पनि काम सम्पन्न गर्न नसकेपछि सवस्टेशन अलपत्र बनेको स्थानीयको भनाइ छ । २०५९ सालदेखि निर्माण कार्य सुरु भएको विद्युत् सवस्टेशनलाई कम्पनीले दुई वर्षभित्रै सम्पूर्ण काम पुरा गर्ने जिम्मेवारी लिएर काम सम्झौता गरी सुरु गरेकोमा एघार वर्ष बित्दा समेत सञ्चालन नभएको हो । 
उदयपुरको जलजले–दिक्तेल ३३ केभी क्षमताको विद्युत प्रसारण अन्तर्गत खोटाङको वुईपामा सवस्टेशन निर्माण भएको भएपनि यसलाई सञ्चालन गर्नका लागि कसैले चासो नदिएपछि अलपत्र अवस्थामा रहेको हो । अहिले खोटाङमा ११ केभी प्रसारण मात्र सञ्चालनमा छ । 
उदयपुरको जलजलेबाट केन्द्रीय प्रसारण लाइनसंग जोडिएको यो विद्युत आयोजनाले तीन जिल्लाका उपभोक्तालाई सुविधा पुग्ने थियो । तर यसलाई सञ्चालनमा ल्याउनका लागि नत सम्वन्धित निकायले चासो दिएको छ, न अन्य कसैले नै । सवस्टेशन सञ्चालनमा नआउँदा जिल्लामा केन्द्रीय लाइनको विद्युत पुगेका ठाउँहरुका सेवाग्राहीहरुले सेवाभन्दा सास्ती बढि खेप्नु परेको छ । 
लोडसेडिङको मार, त्यसमा पनि छिन् छिनमा बक्ती जाने र कम भोल्टेज हुने गरेपछि समस्या खेप्नु परेकोे हो । खोटाङमा अहिले ३४ गाविसका ९ हजार ७ सय ५० घरपरिवारका उपभोक्ताले विद्युत सेवा लिइरहेका छन् ।
जिल्लामा सञ्चालनमा रहेको विद्युत प्रसारण लाइनमा ११ केभी क्षमताको मात्र तार जडान भएकाले ३३ केभी प्रसारण लाईन छाड्नका लागि तार फेर्नुपर्ने तथा मर्मत गर्नुपर्ने भएकाले सवस्टेशन सञ्चालनमा लागि ट्रान्सफर्मरको लाइन तान्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र खोटाङका प्रमुख ध्रुवकुमार बिसीले बताए । 
सवस्टेशन आयोजना प्रमुख चन्द्रवीर खड्काले भने– तारको क्षमता विस्तार तथा सवस्टेशनको भवनमा टुटफुट भएका सामग्रीहरु मर्मत गर्नुपर्ने भएकोले सवस्टेशन सञ्चालनमा ढिलाई भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘तार जडान तथा मर्मतको काम सकिएसँगै मेशिन ल्याएर यस वर्षभित्रै सञ्चालनमा ल्याउँछौं ।’