माघ–१, बजेट पारदर्शी नभएको विषयलाई लिएर खोटाङको डिकुवा गाविसको गाउँ परिषद स्थगित भएको छ । अघिल्लो आर्थिक वर्ष थप अनुदान वापत गाविसलाई आएको २ लाख २१ हजार बजेटमा पारदर्शीता नभएको आवाज उठेपछि परिषद् शुरु भएको डेढ घण्टापछि नै स्थगित गरिएको हो । 
थप अनुदान वापत आएको रकमको खर्च विवरण हेर्नका लागि बैंक ‘स्टेटमेन्ट’ नल्याएसम्मका परिषद स्थगन गरिएको स्थानीय राजकुमार राईले जानकारी दिनुभयो । थप अनुदान रकम खर्च कहाँ र कसरी खर्च भएको भन्ने हेर्नका लागि आगामी माघ १६ र १७ गतेका लागि परिषद सारिएको राईको भनाइ छ । 
परिषदमा सहभागीले तत्काल बैंक ‘स्टेटमेन्ट’ ल्याउनका लागि गाविस सचिव सीताराम आचार्यलाई निर्देशन दिएको छ । स्थानीय सम्बर राईले भने, सडक निर्माणका लागि छुट्टिएको बजेट पारदर्शी नभएको आवाज उठेपछि गाउँ परिषद स्थकित गरिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,–‘सम्बन्धित व्यक्तिले हिसाब नदेखाएसम्म परिषद् हुन सक्दैन ।’