माघ–२, खोटाङको दक्षिणी क्षेत्रका सर्वसाधारण चन्दा संकलन गरेर छिमेकी जिल्ला उदयपुर जोड्ने सडक निर्माणमा जुटेका छन् । चिसापानी, डम्बर्खुशिवालय, काहुले, दिप्लुङ, देविस्थान, मौवाबोटे लगायतका दक्षिणी गाविसका सर्वसाधारण आफ्नै प्रयासमा चिसापानीदेखि उदयपुरको बेलटार जोड्ने सडक निर्माणमा जुटेका हुन् ।
प्रतिघर पाँच हजारका दरले चन्दा संकलन गरेर जम्मा भएको रकमबाट चिसापानी–निगालाबास–देवीस्थान–बुँवाजोरघाट सडक निर्माण शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘केन्द्रबाट बजेट नआएपछि चन्दा संकलन गरेरै भएपनि सडक निर्माणमा जुटेका हौं ।’
उहाँका अनुसार चिसापानीबाट बुँवाजोरघाट पुग्ने सडक बनेपछि खोटाङ र उदयपुरबीचमा रहेको सुनकोसी तरेर उदयपुरको चौदण्डी गाविस हुँदै बेलटार पुग्न सकिन्छ । हाल बेलटारबाट चौदण्डी गाबिसको छुइलासम्म यातायात सेवा सञ्चालनमा छ ।
‘गाउँको विकास कार्यमा सबै एकजुट भएर लागिपरेका छौं’, दिप्लुङ गाविसका पूर्वअध्यक्ष शंखरबहादुर राईले भन्नुभयो— ‘यो सडक संचालनमा आएपछि दक्षिणी खोटाङका बासिन्दालाई तराईसँग जोड्न नजिक र सजिलो हुनेछ, बुवाँजोर घाटमा पुल बन्न सके अझ सुनमा सुगन्ध थपिने थियो ।’
हाल बुँवाजोरघाटसम्म सडक बिस्तार गरिएपछि डुंगामार्फत सुनसकोसी तरेर चौदण्डीको छुइलाहुँदै बेलटार पुग्न सकिने काहुलेका स्थानीय व्यवसायी तारामान राईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सडक सञ्चालनमा ल्याइए हामी व्यवसायीहरुका लागि पनि सहज हुने थियो ।’
दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर–२ अन्तरगतका ३७ गाविसका सर्वसाधारणलाई तराई तथा राजधानी आवतजावत गर्नका लागि सबैभन्दा छोटो र सहज बाटोकोरुपमा विकास गर्नका लागि चिसापानी–देविस्थान–बुँवाजोरघाट सडक निर्माण थालिएको निर्माण उपभोक्ता समितिले जनाएको । सो सडक बनिसकेपछि खोटाङबाहेक भोजपुरका सर्वसाधारण समेत लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ । 
खोटाङको दक्षिणी क्षेत्रबाट बेल्टार पुगेपछि तराई तथा अन्य जुनसुकै ठाउँमा जान र आउन सकिन्छ । चन्दा उठाएर जम्मा भएको २५ लाखको खर्चमा हालसम्म ५ किलोमिटर सडक निर्माण भइसकेको उपभोक्ता समितिका अध्यक्ष राईको भनाइ छ । 
स्क्याभेटर प्रयोग गरी चिसापानीबाट गत पुस–५ गतेदेखि निर्माण शुरु गरिएको सडक छिमेकी गाबिस देवीस्थानको पैयाँटारसम्म बनीसकेको छ । करिब २० किलोमिटर लामो सडक १ करोड २० लाखको लागतमा पूरा हुने अनुमान गरिएको छ । 
सडक बनेपछि गाउँमा उत्पादित सुन्तला, अलैंची, अम्लिसो, कागती, निबुवा, अम्बा, बाँस लगायतका कृषि उपज निर्यात गर्न सकिने चिसापानीका अर्का व्यवसायी गोबिन्द बिष्टको भनाइ छ । सडक निर्माण उपभोक्ता समितिले सडक पूरा गर्न आर्थिक सहयोगका लागि दक्षिणी क्षेत्रका सबै गाविसलाई आग्रह गरेको छ ।