माघ–२, खोटाङमा कुटपिट गर्ने गर्दै मानसिक यातना दिने श्रीमानविरुद्ध श्रीमतीको उजुरी परेको छ । बारम्बार कुटपिट गर्दै मानसिक यातना दिएको आरोपमा लफ्याङ–३ का २६ वर्षीय मिश्रा परियारले आफ्नै श्रीमान केशव परियार विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएकी हुन् । 
कुटपिटबाट आफ्नो तथा बालबच्चाको ज्यान जोखिममा परेको भन्दै मिश्राले शान्ति सुरक्षाकासाथ घरमा बस्ने वातावरण बनाइदिन आग्रह गर्दै उजुरी दिएको प्रहरीले जनाएको छ । माघे संक्रान्तिको समयमा समेत पतिले कुटपिट गरी घर निकाला गरेपछि आफू छिमेकीको आश्रय लिएर बसिरहेको पीडितले बताएकी प्रहरीले जनाएको छ । 
पीडितको उजुरीको आधारमा घरेलु हिंसा गर्ने आरोपितलाई झिकाएर कारवाही गरिने जिल्ला प्रहरी कार्यालय खोटाका प्रहरी निरिक्षक दुर्गाराज रेग्मीले बताउनुभयो । पीडितको ९ वर्षीय, ७ वर्षीय, ५ वर्षीय र ३ वर्षीय चार जना छोरी र १ वर्षीय एक छोरा छन् । 
उनले श्रीमानको कुटपिट र यातनाका कारण निर्भिकताकासाथ घरमा बस्ने अवस्था नभएको बताएकी इन्सेक खोटाङका प्रमुख डिएम चाम्लिङले बताउनुभयो । पतिले बारम्बार कुटपिट गर्दै आएकोमा पछिल्लो समय पुस ३० गते बिना कारण संवेदनशिल अंगमा कुटपिट गरी मरणासन्न बनाको पीडितको भनाइ छ । 
श्रीमानको कुटपिट र यातना सहेर बस्दै आएका जिल्लाका महिलाहरु पछिल्लो समयमा खुलेर श्रीमान विरुद्ध कारबाही सम्मका आवाज उठाउन थालेका छन् ।