माघ–२, खोटाङमा जबरजस्ती बलत्कार गर्न खोजेको आरोपमा कुटिइएका एक युवकको ज्यान गएको छ । आफ्नै बुहारीलाई रातको समयमा बलात्कार गर्न खोजेको ओरोमा कुटिइएका मौवाबोटे–६ का दिलकुमार राईको ज्यान गएको हो । 
आफ्नै २८ वर्षीय भाइ भुमिराज राईको श्रीमती २४ वर्षीय प्रमिला राईलाई हातपात गर्न खोजेपछि प्रमिलासहितको समूहले कुटपिट गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीय जीतबहादुर राईले जानकारी दिनुभयो । मंगलबार राती ११ बजेतिर भएको घटनामा मृतक राईले बुहारीलाई घरैभित्र हातपात गर्न खोजेपछि कुटपिट भएको प्रहरीले जनाएको छ ।
जेठाजुले बलात्कार गर्न खोजेपछि प्रतिकार स्वरुप बुहारीले गुहार मागेपछि स्थानीयवासीले समेत कुपिट गर्दा गम्भीर घाइते बनेका दिलकुमारको बुधबार ज्यान गएको जीतबहादुरको भनाइ छ । रातको समयमा कुटिइएका दिलकुमारलाई उपचारका लागि लैजान तयार गर्दागर्दै घरैमा ज्यान गएको श्रोतले जनाएको छ । 
घटनामा सग्लग्न रहेको आशंकामा नौं जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककी बुहारी प्रमिला र सोही वडाका १७ वर्षीय पर्शुराम राई, १६ वर्षका प्रकाश राई, १५ वर्षीय सन्तोष राई, १४ वर्षकी मेम्बरा राई, १९ वर्षकी वर्षा राई, ५८ वर्षकी फूलकुमारी राई, १९ को जिनोद राई र २५ वर्षीय तीलक राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । 
उहाँका अनुसार उनीहरुलाई घटनाको बारेमा सत्यतथ्य छानविनका लागि इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएर गएका टोलीले जिल्ला प्रहरी कार्यालयमा ल्याएका छन् ।   
घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब २४ कोस दक्षिणमा पर्दछ । प्रहरीका अनुसार मृत दिलकुमारको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।