माघ–४, खोटाङमा बेवारिसे अवस्थामा छाडिएको ६२ क्यूफिट चिरानी काठ बरामद गरिएको छ । जिल्ला वन कार्यालय खोटाङले सदरमुकाम दिक्तेलसँग जोडिएको लफ्याङ–१ बाट बेवारिसे अवस्थामा सखुवाको ४७.४० क्यूफिट र सल्लाको १५.३१ क्यूफिट काठ बरामद गरेको हो । 
दिक्तेल–खोटाङबजार सडकखण्ड अन्तरगत मात्तिम जाने सहायक सडकमा काठ तस्करले राखेको सखुवाको ५/५ इन्चको सात फुटे ३९ थान खम्बा र सल्लाको डेढ साँढे ३ ईन्चको सात फुटे ६० थान काठ बरामद गरिएको जिल्ला वन कार्यालय खोटाङका रेञ्जर सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । कार्यालयबाट रेञ्जर कार्कीको नेतृत्वमा गएको गस्ती टोलीले सडकको भित्तामा ठड्याएर राखिएको अवस्थामा काठ बरामद गरेको जनाइएको छ । 
सोधीखोजी गर्दा कसैले पनि काठका विषयमा दावी नगरेपछि प्रहरीको सहयोगमा काठ बरामद गरिएको रेञ्जर कार्कीको भनाइ छ । बरामद भएको काठ जिल्ला वन कार्यालयमा ल्याएर राखिएको छ । बेवारिसे काठका विषयमा थप अनुसन्धान गर्ने वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिलेसम्म काठ कसले, कहाँबाट ल्याएको भन्ने खुल्न सकेको छैन । रेञ्जर कार्कीले भन्नुभयो, –‘यस विषयमा थप अनुसन्धान हुन्छ, त्यसपछि मात्र काठ तस्करीमा को–को संलग्न छ, काठ कहाँबाट ल्याइएको हो भन्ने थाहा हुन्छ ।’ 
वन कार्यालयका कर्मचारी भुपध्वज खत्रीका अनुसार तस्करले काठ अन्यत्रबाट ल्याएर राखेको आशंका गरिएको छ । जिल्लामा यति ठूलो मात्रामा काठ बरामद गरिएको यो पहिलो चोटी हो ।