माघ ४, हर्कबहादुर राई स्मृति प्रतिष्ठान अनामनगर काठमाण्डौंले रक्तदान गरेको छ । द्वन्द्वकालमा ज्यान गुमाएका खोटाङको चिसापानी–७ का प्रधानाध्यापक राईको ११ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानले शुक्रबार काठमाण्डौंको शंखपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष केशव निरौलाले रगत दान गरेर उद्घाटन गर्नुभएको कार्यक्रममा विभिन्न ५१ जना दाताहरुले रगत दान गरेका छन् । रक्तदानबाट संकलन भएको रगत प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको हर्कबहादुर राई स्मृति प्रतिष्ठानका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिनुभयो । अस्पतालमा पुगेर रगतको अभावमा छट्पटिरहेका बिरामीको ज्यान बचाउकालागि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईको भनाई छ । 
कार्यक्रममा खोटाङका पुर्वसभासद हिरा गुरुङ, कांग्रेसका महासमिति सदस्य नरेश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इच्छुराम राना, नवराज केशी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । राईको स्मृतिमा प्रतिष्ठानले हरेक वर्ष विभिन्न सामाजिक काम गर्दैआएको छ । 
नेपाल शिक्षक संघ खोटाङका तत्कालीन अध्यक्ष रहेका प्रधानाध्यापक राईको २०५८ साल माघ ३ गते हत्या भएको थियो । चिसापानी उच्च माविको प्रधानाध्यापकको भूमीका सम्हाल्दै आउनु भएका राईलाई विद्यालयबाट अपहरण गरी काहुले, डम्बर्खुशिवालय र चिसापानीको सिमामा पर्ने होङ्मापोखरीमा लगेर हत्या गरिएको थियो । कार्यरत विद्यालय नजिक राखिएको राईको समाधिस्थल महिना दिनपछि हत्यारा समूहले उत्खनन गरी चिसापानीको बिपीचोकमा लगेर जलाएको घटना सहस्यमय रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।