माघ–७, वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका खोटाङका दुई व्यक्तिको परिवारले क्षतिपुर्ति पाएका छन् । मलेसियामा ज्यान गुमाएका राजापानी–४ का तेजबहादुर बिष्ट र कतारमा ज्यान गुमाएका खार्मी–८ का प्रेमबहादुर तामाङको परिवारले क्षतिपूर्ति पाएका हुन् । 
बिष्टका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र बीमा कम्पनी गरी पाँच लाख ७२ हजार र तामाङका परिवारले सात लाख १७ हजार दुई सय ९२ रूपैयाँ क्षतिपूर्ति पाएका हुन् । उनीहरुको परिवारले दिएको उजुरीको आधारमा केन्द्रले पहल गरेपछि क्षतिपूर्ति प्राप्त भएको सुरक्षित आप्रवाशन सूचना केन्द्र खोटाङकी परामर्शकर्ता खीलाश्वरी दाहालले बताउनुभयो । 
बिष्टको गत कात्तिक–१६ गते र तामाङको मङ्सिर–१९ गते ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । श्रोतका अनुसार दुई वर्षअघि मलेसिया पुगेका बिष्टको निमोनियाका कारण र चार महिनाअघि कतार पुगेका तामाङको सुतेकै अवस्थामा ज्यान गएको थियो ।
सूचना केन्द्रले यो सँगै विभिन्न कारणबाट विदेशमा ज्यान गुमाएका १३ जना खोटाङ्गेका परिवारलाई क्षतिपूर्ति दिलाइसकेको छ ।