माघ–८, जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकता र राहदानी लिनेको संख्या एक्कासी वृद्धि भएको छ । पछिल्लो समय विदेश जाने युवायुवतीको संख्या बढेसँगै प्रशासनमा नागरिकता तथा राहदानी लिनेको संख्या वृद्धि भएको हो । 
माओवादी द्वन्द्वको समयमा ध्वस्त जिल्ला प्रशासनमा २०६२ साल अघि बनाएका नागरिकता तथा राहदानीको तथ्याङ्क नभएका कारण यस्तो समस्या आएको निमित्त प्रमुख जिल्ला अधिकारी तीलकराम पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘धेरै जसो प्रतिलिपि लिन आउनेको संख्या बढि छ ।’ उहाँले थप्नुभयो– ‘प्रमुख जिल्ला अधिकारीसमेत कार्यालयमा नभएकाले हस्ताक्षर गर्न भ्याइनभ्याइ भएको छ ।’
प्रशासनका अनुसार दैनिक ८० भन्दाबढिको संख्यामा नागरिकता तथा राहदानी लिनेको भिड लागेको छ । कतिपय दुर्गम क्षेत्रका नागरिक नागरिकता बनाउनकै लागि दुई दिनसम्म पैदल हिडेर सदरमुकाम आउने गरेका छन् । 
जिल्लामा इलाका प्रशासन नभएकाले पनि नागरिकको भिड लागेको पोखरेलको भनाइ छ । इलाका प्रशासन कार्यालय खोटाङबजारमा कार्यालय प्रमुख नभएका कारण झनै समस्या आएको हो ।