माघ–१२, खोटाङको सदरमुकाम दिक्तेलस्थित हाटडाडाँमा आठ महिना अघि निर्माण कार्य सम्पन्न भएको सार्वजनिक शौचालय सञ्चालनमा नआउँदा सर्वसाधारण मारमा परेका छन् । हप्तामा दुई पटक लाग्ने हटियामा सार्वजानिक शौचालय सञ्चालनमा नआउँदा बजार भर्न आउने सर्वसाधारण बढी समस्यामा पर्ने गरेका हुन् । 
बजार भर्न आउनेहरु दिशा पिसाव गर्न शौचालय नपाएपछि स्थानीय होटेलमा केही खाएर मात्र दिशा पिसाव गर्न बाध्य भएका छन् । जताततै घर र मानिसको चहल पहल रहने वजार क्षेत्रमा अन्य विकल्प समेत नरहेपछि उनीहरुलाई थप समस्या पर्ने गरेको छ । 
बुधबार र शनिबार गरी हप्तामा दुई पटक लाग्ने दिक्तेलको हटियामा जिल्लाका ग्रामीण भेगदेखि छिमेकी जिल्ला सोलुखुम्वु, ओखलढुङ्गा, भोजपुर र उदयपुर लगाएतका ठाउँहरुवाट हाट भर्नका लागि आउने गरेका छन् । दिक्तेलवजारमा सार्वजनिक शौचालयको अभाव झेल्दै आएका सर्वसाधारणका लागि ग्रामिण पहुँच कार्यक्रम (¥याप)ले शौचालय निर्माण गरि  दिएको भएपनि सञ्चालनमा नआउँदा सवैको साझा समस्या बनेको छ । 
शौचालय सञ्चालनमा नआउँदा सर्वसाधारणले ठुलो पीडा भोग्नु परेको वजारमा होटल व्यवसाय गर्दै आएका दिक्तेल–४ का हरिप्रसाद आचार्यले बताउनुभयो । सार्वजनिक शौचालय प्रयोगमा नआएपछि घरयासी शौचालयको खोजीमा भौतारिदाँ अरुको गाली वेइज्जती सहनु परेको वजारमा आएका सर्वसाधारणको भनाइ छ । 
यता, बजार व्यवस्थापनको जिम्मेवारी लिएको दिक्तेल गाविसका गाविस सचिव सिताराम खतिवडाले भने आफूले यस गाविसको जिम्मेवारी भर्खरैदेखि सम्हालदै आएकाले त्यस बिषयमा आफू कम जानकार नभएको बताएका छन् । यस्तो पीडामा विशेष गरेर ग्रामीण भेगवाट आएका सर्वसाधारणहरुलाई पर्ने गरेको छ । 
बजारमा चिनजान नभएका होटेल तथा व्यक्तिहरुका शौचालयमा जादाँ गाली खानुपर्नेे भएकाले सर्वसाधारणहरुलाई शौचालयको अभाव रोग नै बन्ने गरेको दिक्तेल १ का स्थानीय व्यापारी शिव बस्नेतले बताउनुभयो । दिशा पिसाव गर्न नपाउदाँ त्यस सम्वन्धीको रोग त छदैछ तर खुल्ला ठाउँमा दिशा पिसाव गर्नाले वातावरण समेत प्रदुषित हुने भएकाले वजार क्षेत्र आसपासमा वस्नेहरुलाई पनि दुर्गन्धले सताउने गरेको व्यापारी बस्नेतको भनाइ छ । 
जिल्लाका सरकारी कार्यालयको कामकाजका लागि आउनेहरुका लागि पनि कुनै पनि कार्यालय आसपासमा सार्वजनिक शौचालय नहुदा सेवाग्राहीहरु मारमा पर्ने गरेका छन् ।