माघ–१३, खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा गुणस्तरीयरुपमा स्नातकोत्तर कक्षा सञ्चालनका लागि सबैको योगदान अनिवार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । दिक्तेल बहुमखी क्याम्पसले आयोजना गरेको ‘स्नातकोत्तर तहको कक्षा सञ्चालन तथा समसामयीक’ विषयक अन्तरक्रीय कार्यक्रममा सहभागी बक्ताहरुले यस्तो बताएका हुन् । 
कसैको एकल प्रयासले मात्र स्नातकोत्तर कक्षा सञ्चालन प्रभावकारी नहुने भन्दै बक्ताहरुले स्नातकोत्तर कक्षालाई क्षेत्रकै नमूना बनाउनकालागि सबैको योगदान अनिवार्य रहेको बताएका छन् । क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक, विद्यार्थी संगठन एबं विद्यार्थी प्रतिनिधिले क्याम्पस सञ्चालनकालागि सबैले निस्वार्थरुपमा योगदान दिनुपर्नेमा जोड दिएका हुन् । 
क्याम्पसका प्रमुख डा. सुकराज राईले क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सबैको साथ र सहकार्यको आवश्यकता रहेको औंल्याउनुभयो । क्याम्पसको भौतिक, शैक्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख डा. राईले क्याम्पसको भावी योजना, चुनौंती र सम्भावनाका बारेमा जानकारी दिनुभएको छ । 
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सनबहादुर राईले विश्व बिद्यालय अनुदान आयोगको दोश्रो उच्च शिक्षा परियोजना अन्तरगत ‘स्कीम सि’को रकमलाई उपलव्धीमूलक बनाउने नियमका बिषयमा सहभागीलाई जानकारी दिनुभयो । कार्य सम्पादन अनुदान तथा समपुरक कोषको बिषयमा जानकारी दिँदै अध्यक्ष राईले परियोजनाबाट प्राप्त हुने रकम बृद्धिकालागि रणनितीक योजनाको बिषयमा समेत स्पष्ट पार्नु भएको थियो । उच्च शिक्षालाई गुणस्तरिय बनाउनकालागि क्याम्पसले कार्यक्रममा सहभागीहरुबाट सुझाव संकलन गरेको छ । 
२०३७ सालमा स्थापना भएको दिक्तेल क्याम्पसमा यस शैक्षिक सत्रबाट नेपाली बिषयमा स्नातकोत्तर तहको कक्षा सञ्चालनको तयारी गरेको छ । हालसम्म स्नातक तहको कक्षा सञ्चालन गर्दैआएको क्याम्पसले आफ्नै जिल्लामा उच्च शिक्षाको अवशर सिर्जाना गर्ने उद्धेश्यकासाथ स्नातकोत्तर कक्षा सञ्चालनको तयारी गरेको हो । 
हाल स्नातकोत्तर तहको कक्षा सञ्चालनकालागि भर्ना लिनेक्रम जारी रहेको क्याम्पसले जनाएको छ । जिल्लाकै पूरानो क्याम्पसमा खोटाङ बाहेक ओखलढुंगा, भोजपुर, उदयपुर र सोलुखुम्बुका बिद्यार्थी अध्यायन गर्दैआएका छन् ।