माघ–१३, खोटाङको उत्तरी क्षेत्रका तीनवटा इलाका पशुसेवा कार्यालयमा कर्मचारी नहुँदा सर्वसाधरण मर्कामा परेका छन् । इलाका पशुसेवा कार्यालय जालपा, कुभिण्डे र लामिडाँडामा कर्मचारी नहुँदा त्यस क्षेत्रका किसानहरु मर्कामा परेका हुन् । 
जिल्ला पशुसेवा कार्यालयका अनुसार बहालवाला कर्मचारी सरुवाभई गएको र आउनुपर्ने कर्मचारी आइनपुगेका कारण कर्मचारीको अभाव भएको हो । गत पुस ९ गते आफ्नो इलाकामा कर्मचारी नभएकोले आफ्नो पशुहरुको उपचार गर्न नपाईएको भन्दै तत्काल कर्मचारीको व्यवस्था गर्न माग गर्दै जालपाबाट जिल्ला पशुसेवा कार्यालयमा डेलिगेसन टोली आएको भएपनि त्याहा हालसम्म कर्मचारी नआएको  नवदिप प्रगतीशिल नागरिक सचेतना केन्द्रका अध्यक्ष समिता राईले बताउनुभयो । 
आफ्नो गाउँमा विभिन्न पशुहरुको उपचार अभावका कारण क्षति भएको विवरण सहित जिल्लामा गएर कर्मचारी पठाउन अनुरोध गरे पनि कार्यालयले कार्यालय सहयोगीलाई मात्र पठाएको टोलीमा आउनु भएका सम्पुर्णा राईले दुखेसो गर्नुभयो । राईले भन्नु भयो ‘प्राविधिक कर्मचारी नहँदा हाम्रो क्षति भयो भनेर गएका थियौं । तर कार्यालय सहयोगिमात्र पठाएर झारो मात्र टार्न खोजियो ।’
स्वीस सरकार विकास सहयोग कार्यक्रमको सहयोग तथा जनसेवा समाज नेपालद्धारा संचालित सामाजिक परिलाचन कार्यक्रम अन्र्तगत गठित नागरिक सचेतना केन्द्रले एक वर्ष भित्र जालपा गाविसमा भएको क्षतिको तथ्याङ्क संकलनगरी जिल्ला पशुसेवा कार्यालयमा डेलिगेसन गएको केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभयो । एक महिना भित्र यो मागको सुनुवाई गर्ने भनिएको भएपनि महिना बितिसक्दा समेत माग पुरा नभएको उहाको भनाइ छ । 
यता जिल्ला पशुसेवा कार्यालयले भने कर्मचारीहरु सरुवा भई आउनु पर्ने भएपनि हालसम्म नआईपुगेकाले कर्मचारी पठाउन नसकिएको जनाएको छ ।