खोटाङ असार–२, खोटाङ सदरमुकाम दिक्तेलबजारमा बढीमा ३० जनाको लागि भनेर शनिबारदेखि आयोजना गरिएको पाँच दिने अधारभूत पत्रकारिता तालिमको लागि ४० जनाको आबेदन आयो । अन्य पेशामै आबद्द रहेर पनि पत्रकारिता तालिम लिन चाहाने कतिपय ब्यक्तिलाई फोन सम्पर्कबाटै सहभागी नभईदिन आग्रह गरिएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हरेक वडामा पत्रकार उत्पादन गर्ने उदेश्यले सोही नगरको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आयोजना गरेको पत्रकारिता तालिमको लागि तोकिएको भन्दा बढी इच्छुक देखिएका हुन् । अन्तत ः दृढता र ब्यवसायिक पत्रकारिता पेशामै समर्पित हुने संकल्प गर्ने नगरपालिकाको १५ वडाबाट आएका ३६ जनालाई सहभागी गराईको महासंघको जिल्ला अध्यक्ष दमन राईले बताउनुभयो ।
नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पाण्डे, राजनीतिक दलका नेता लगायतको उपस्थितीमा दिक्तेलबजारस्थित होटल शुभदिनमा उद्घाटन भएको तालिम सोही स्थानमा सञ्चालन हुने अध्यक्ष राईको भनाई छ ।
दिक्तेलमा जस्तै वडा स्तरमै पत्रकार उत्पादन गर्ने उदेश्यका साथ यसअघि अन्य पालिकामा आयोजना गरिएको तालिममा पनि तोकिएको भन्दा बढी सहभागीले चासो दिएका थिए । हलेसी न्युज नेटवर्क प्रालिको आयोजना र सम्बन्धित गाउँपालिकाको आर्थिक सहयोगमा रावाबेंसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सञ्चालन गरिएको आधारभूत पत्रकारिता तालिममा पनि उल्लेख्य सहभागि रहेको जनाईएको थियो । सो गाउँपालिकाहरुमा पनि हरेक वडाबाट २÷२ र ३÷३ जनाको दरले सहभागी गराउने भनिए पनि सहभागीको संकल्पका कारण तोकिएको भन्दा बढी सहभागीलाई तालिममा राख्न बाध्य बनेको आयोजकले जनाएका छन् । जिल्लाकै ऐंसेलुखर्क गाउँपालिकामा आयोजना गरिएको पत्रकारिता तालिममा पनि उत्तिकै सहभागी रहेका थिए ।
तालिम सञ्चालन गरिएको अधिकांस स्थानमा कम्तीमा प्रबिणता प्रमाणपत्र तहको शैक्षिक योग्यता प्राप्तलाई मात्र सहभागी गराईएको थियो । कतिपयमा सहभागी हुन आउने शिक्षक, राजनीतिज्ञ लगायत सरकारी जागिरेहरुलाई फर्काईएको थियो ।
तालिममा सहभागी संख्या जे जस्तो भए पनि यही पेशामा लाग्ने र ब्यवसायिक हिसाबले निरन्तरता दिनेमा भने आशंकै रहेको आयोजकहरु बताउँछन् ।
दुई नगर र ८ गाउँपालिका रहेको जिल्लाको साकेला गाउँपालिकामा पनि तत्कालै आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने सहमति भएको जनाईएको छ ।