माघ–१४, खोटाङको दिक्तेल–हलेसी सडकखण्ड कालोपत्रे हुने भएपछि सडक आसपासमा परेका जग्गादाताहरुलाई मुआब्जा दिने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले सुचना प्रकाशित गर्दै १५ दिन भित्रमा आवेदन पेश गर्न माग गरेको छ । 
प्रशासनका अनुसार सडक आसपासमा पर्ने ९ सय ८ जना जग्गादाताहरुले मुआब्जा पाउने भएका छन् भने, १ सय ८ वटा घरपनि मुअब्जा दिएर हटाईने भएको छ । मुअब्जा वितरणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बन्ने समितिले निर्णय गर्ने छ । जग्गादाताहरुले दिक्तेल–हलेसी सडक आयोजनाको कार्यालय ओखलढुँगाको हर्कपुरमा निवेदन पेश गर्नुपर्ने प्रशासनले जनाएको छ । दिक्तेल–हलेसी सडक खण्ड कालोपत्रे गर्नका लागि प्रक्रिया सुरु हुने सडक विभागले जनाएको छ । 
यसका लागि टेण्डर भैसकेको छ । एशियाली विकास बैंक एडिबिको आर्थिक सहयोगमा दिक्तेल–हलेसी सडक खण्डको ३६ किलोमिटर कालोपत्रे गर्ने कार्य चाँडै सुरु हुने सडक विभागका इञ्जीनियर जयराम अधिकारीले बताउनुभयो । सडक विभाग र एडिबीबीच सम्झौता गरि सार्वजनिक सूचना प्रकाशित गरिसकिएकाले सडकको स्तरोन्नती र कालोपत्रे एकैसाथ सुरु हुने अधिकारीको भनाइ छ । पाँच मिटर चौडाईको यस सडक खण्डको ठेक्का सडक विभागले जिम्मा लिएको छ । 
विभागले यसअघि हलेसी–हिलेपानी सडक खण्डको ४२ किलोमिटर सडक स्तरोन्नती र कालोपत्रे गरेको थियो । अहिले हर्कपुर–ओखलढुंगा सडकमा काम गरिरहेको विभागले दिक्तेल–हलेसीखण्डमा चाडै काम सुचारु गर्ने जनाइएको छ ।