माघ १८ । दुधकोसी र सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालन भएसँगै खोटाङबाट काठमाडौंलगायत तराईका जिल्लासँग सिधा यातायात सेवा सुरु भएको छ ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दुधकोसी तथा ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने हर्कपुरस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएसँगै शुक्रबारदेखि खोटाङबाट सिधा यातायात सेवा सुरु भएको हो ।

सिधा यातायात सेवा सुरु भएपछि खोटाङबाट बाहिरिने तथा भित्रने यातायातका सवारी साधन आवतजावत गर्न थालेको छ । सिधा यातायात सेवा सुरु भएपछि जिल्लामा दैनिक उपभोग्यवस्तुको मुल्य घट्ने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अब जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य पाँचदेखि सात रुपैयाँले घट्ने छ ।’

बेलिब्रिज सञ्चालनमा आएलगत्तै राजधानी काठमाडौंलगायत तराईका लिल्लाहरुको विभिन्न ठाँउका लागि शुक्रबार बिहानैदेखि यात्रुवाहक सवारी साधन पनि छुट्न थालेको छ । यातायात व्यवसायी संघ खोटाङका अनुसार दिक्तेलदेखि बिहान साँढे ६ बजे र साँढे ११ बजे, दिउँसो साँढे २ बजे र बेलुका ५ बजे यात्रुवाहक सवारी साधन बाहिरिन थालेको हो ।

दुधकोसी र सुनकोसीमा बेलिब्रिज सञ्चालनमा आएपछि यात्रुहरुले पटक–पटक सवारी साधन परिवर्तन गर्नुपर्ने समस्याबाट समेत मुक्ती पाएका छन् । बेलिब्रिज सञ्चालन नहुँदा काठमाडौंलगायत तराईका जिल्लाहरुमा जानका लागि सर्वसाधारणले जयरामघाट, हर्कपुर, घुर्मी र कटारीमा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता थियो ।

जयरामघाटमा शुक्रबार र हर्कपुरमा करिब दुई हप्ताअघि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ । गत मंसिर–१५ गतेभित्र दुवै ठाउँमा बेलिब्रिज सञ्चालन गर्ने भनिएपनि विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले आलटाल गरेका कारण ढिलोगरि सञ्चालनमा आएको हो ।