माघ–२०, ‘बिकासकालागि लागीपरे के हुन्न रहेछ र ?’ गाउँमा चन्दा उठाएर सडक निर्माण गरेपछि खोटाङको दुर्छिमका स्थानीयबासीलाई अहिले यस्तै लागीरहेको छ । उनीहरुले चन्दा संकलन गरी जम्मा भएको रकमबाट मध्यपहाडी लोकमार्ग अन्तरगत दुर्छिम–१ पुर्वज शुभेच्छापुञ्जदेखि दुर्छिम–३ र २ हुँदै सुनकोशी जोड्ने १२ किलोमिटर लामो ‘मौवापानी–रातमाटे’ सडक निर्माण गरेका छन् । स्थानीय युवाको अगुवाईमा थोरै रकममा सोचेभन्दा बढि सडक निर्माण भएपछि स्थानीय दंग छन् । स्थानीय चन्दादाता, उपभोक्ता तथा गाबिसका सरकारी कर्मचारीको आर्थिक सहयोगमा सडक निर्माण गरिएको स्थानीय युवा एबं ‘मौवापानी–रातमाटे’ सडक निर्माण उपभोक्ता समितिका सदस्य राजन राईले जानकारी दिए ।
दुर्छिम–२ र ३ का स्थानीयको पहलमा दुई महिना लगाएर रातमाटे सिरान हुँदै रातमाटे पुछारको सुनकोसी किनारसम्म सडक निर्माण गरिएको हो । उर्वर मानिएको रातमाटेमा उत्पादित मकैको बीउ, व्यवसायीकरुपमा लगाइएको तरकारी, सागसव्जी तथा खसी निर्यातकालागि गाउँमा सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जसजीत राईले बताए । जिल्लामै सबैभन्दा बढि गिटी र बालुवा पाइने सुनकोसी र लुभु खहरेबाट निर्माणजन्य बस्तु निकासीकालागि पनि सडक बिस्तारले बाटो खुलाएको छ ।
बिशेषगरी मध्यपहाडी लोकमार्ग बिस्तारकाक्रममा लुभु खहरेको प्राकृतिक गिटी र सुनकोसीको बालुवा निकासी गर्नकालागि पनि सडक सहयोगी हुने अपेक्षा गरिएको सदस्य राई बताउँछन् । दुर्छिमबाहेक उदयपुरको बासबोटे, बलम्ता, ताम्लिछा लागायतका सर्वसाधारण समेत लाभान्बित हुने यो सडकलाई खोटाङ र उदयपुर जोड्ने अन्तरजिल्ला सडककारुपमा स्थापित गराउन सकिने सम्भावना रहेको निर्माण समितिको दाबी छ ।
कुल २८ लाखको लागतमा पूरा भएको ग्रामिण सडक निर्माणकालागि दुर्छिम–२ का स्थानीय समाजसेवी नयनकुमार राईले ४ लाख ५० हजार, यादवकुमार राईले १ लाख, दुर्छिम–३ का हम्बर राईले १ लाख, टेकबहादुर राईले ५० हजार आर्थिक सहयोग गरेका छन् । ग्रामिण सडक निर्माण अभियान सफल बनाउनकालागि गाउँका इच्छुक दाताहरुबाट कम्तीमा १० हजारदेखि बढिमा ४ लाख ५० हजारसम्म आर्थिक सहयोग प्राप्त भएको सदस्य राईले बताए । उपभोक्ता समितिका अनुशार सडक निर्माणकालागि १०५ घरका उपभोक्ताबाट २७ लाख चन्दा उठेको थियो । समुदायले थालेको सडक निर्माण अभियान पूरा गर्नकालागि गाबिसको १ लाख खर्च गरिएको छ ।
यसअघि, स्थानीयकै पहलमा दुर्छिमको छापडाँडास्थित बरभञ्ज्याङदेखि दुर्छिम–३ र ४ हुँदै सुनकोशीको बतासेघाट जोड्ने १३ किलोमिटर लामो ‘होलेसुङ जनकमार्ग’ पनि निर्माण भइसकेको छ ।