माघ–२१, धमाधम मुहान सुक्न थालेपछि खोटाङको विजयखर्कमा पानीको हाहाकार भएको छ । हिउँदको समयमा कहिल्यै नसुक्ने पँधेराहरु एक्कासी सुकेपछि विजयखर्क गाविसमा पानीको हाहाकार भएको हो । 
आफूहरुले उपभोग गर्दै आएको खानेपानीको मुहान गत मंसिर पुसमै सुकेपछि आफूहरु ककाकुल झैं भएको पञ्चकन्या नागरिक सचेतना केन्द्रका अध्यक्ष कल्पना विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो,–‘मान्छेका लागि त टाढैबाट भएपनि ल्याएर खाइन्थ्यिो, वस्तुभाउको बिचल्ली भएको छ ।’
ठूलो पँधेरो, ढकाल गाँउ, कालिमाटी कुवा, पँधेरे कुवालगायतका ९ वटा ठाउँको पानी सुकेपछि जेठ महिनासम्मका लागि राम कटुवालको पात्ले खोला खेतमा जाने पानी अस्थायी सम्झौता गरी संचालनमा ल्याइएको स्थानीय गीता राईले बताउनुभयो । उहाँले भन्नुभयो–‘प्रतिघर ५ सय रुपैयाँ संकलन गरी पानी सञ्चालनमा ल्याइएको छ ।’ राईले थप्नुभयो– ‘अस्थायी रुपमा सञ्चालन गरिएको पानी पनि पालो कुरेर थाप्नुपर्ने अवस्था छ ।’ गाउँमा पानी नपाएपछि दुई घण्टा टाढाको मुहान जाँदा समेत पालो कुर्नु पर्ने बाध्यता रहेको स्थानीय कौशिला राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘पालो कुर्दाकुर्दै बिहान जान्छ ।’
अल्पकालीन उपाय अपनाउँदा समेत पर्याप्त मात्रामा पानी नभएपछि झनै समस्या भएको स्थानीय कमल ढकालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आफूहरुको समस्यामा कसैको ध्यान जान सकेको छैन ।’ खुल्ला दिशामुक्त गाविस घोषणा गरिएपनि पानी अभावले निर्माण गरिएको चर्पी पनि पानीको अभावमा थुनेर पाखामा जानु पर्ने अवस्था आएको स्थानीयको भनाइ छ । उनीहरु भन्छन्– ‘सरकारले खुल्ला दिशामुक्त अभियान सञ्चालन गर्नुभन्दा पहिले पानीको व्यवस्था गर्नुपर्छ ।’