माघ–२७, खोटाङका अधिकांश सामुदायिक वन लक्षित वर्ग लक्षित नभएको पाइएको छ । बहुसरोकारवाला वन कार्यक्रम र सञ्चार सदन खोटाङले गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको क्रममा त्यस्तो खुलासा भएको हो ।
अधिकांश सामुदायिक वनहरू विपन्नहरूको पहुँच बाहिर रहेको पाइएका छन् । सामुदायिक वन उपभोक्ता समूहमा विपन्नलाई समावेश गरिएपनि विपन्नको जीविकोपार्जनका लागि योजना नै बन्न सकेको छैन । 
सामुदायिक वनको ३५ प्रतिशत रकम विपन्नमुखी हुनु पर्ने सामुदायिक वन ऐनमा उल्लेख छ । ऐन अनुसार विपन्न लक्षित कार्यक्रम हुन नसकेको बिजयखर्कस्थित भान्टामा प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष जैसरा राईले बताउनुभयो । वनको विपन्न लक्षित रकम उपभोक्ता समितिकै पहुँचवालाले उपयोग गर्ने र विपन्न वर्गलाई उपलब्ध नगराइने एक उपभोक्ताले बताएका छन् । 
भान्टामा प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहको रकम पनि समूहकै केही पदाधिकारीले चलाएको र बेलामा फिर्ता नगरेकाले विपन्नलाई उपलब्ध गराउन नसकिएको तथ्य खुलेको छ । सार्वजनिक सुनुवाईको क्रममा समूहका उपाध्यक्ष अम्बर राईले १५ हजार र कोषाध्यक्ष उत्तम राईले दश हजार चलाएपछि बेलामा फिर्ता नगरेपछि विपन्न वर्गले रकम पाउन सकेका छैनन् । 
त्यस्तै बिजयखर्कस्थित पूर्वीमोहडा सामुदायिक वन र पश्चिममोहडा सामुदायिक वनमा पनि उस्तै अवस्था छ । त्यहाँ लाखौंको खोटो र खयर निकासी गरिए पनि विपन्नको अवस्था उस्तै छ ।  नुनथलास्थित सामुदायिक वन उपभोक्ता समूहहरूमा पनि उस्तै अवस्था छ । नुनथला गाविसमा हुलुङपाखा, सिंहबाहिनी, माहुरे प्राकृतिक, रुवालुङ, रोनासी, होओमा सामुदायिक वन उपभोक्ता समूह गरी छ वटा सामुदायिक वन छन् । यीमध्ये कतिपय सामुदायिक वनहरू विपन्न लक्षित देखिएका छैनन् । यहाँका सामुदायिक वन उपभोक्ता समूहकै पहुँचवाला व्यक्तिले समूहबाट सहुलियत ब्याजदरको ऋण लिएर समूहकै विपन्नलाई चर्को ब्याज असुलेको खुलासा भएको छ । समूहका केही पहुचवाला व्यक्तिले एक प्रतिशतका दरले ऋण लिएर पाच प्रतिशतसम्मले विपन्नलाई ऋण लगानी गरेको खुलेको हो । जिल्लामा तीन सय ३८ सामुदायिक वन समह दर्ता छन् । 
कतिपय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूमा चेतना नभएकाले सामुदायिक वन ऐन पालना हुन नसकेको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सूर्यबहादुर राईले बताउनुभयो । राईले भन्नुभयो–‘यसबारेमा सामुदायिक वन पदाधिकारीहरूमै समस्या छ, सरकारले समुदायलाई सामुदायिक वन हस्तान्तरण गरेपनि चेतना दिन सकेन त्यसले मात्र पुग्दैन ।’ 
त्यसो त वनको हैसियत पनि गिर्दो अवस्थामा भएको पाइएको छ । तिब्रगतिमा रूख कटानी मात्र गरिने र त्यसको ठाउमा नया विरुवा नलगाइएपछि वनको अवस्था गिर्दो अवस्थामा रहेको अध्यक्ष राईले बताउनुभयो । राईले भन्नुभयो–‘खयर, खोटो, लोठसल्ला, विभिन्न जडिबुटी निकासी गरिन्छ, त्यसको ठाउँमा नयाँ विरुवा लगाइदैन अनि कसरी वन जोगियोस् ।’