फागुन–१२ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई गतिविधि सच्याउन आग्रह गर्दै नेपाली कांग्रेस खोटाङले ज्ञापन–पत्र बुझाएको छ ।
प्रजिअ नेपालले कुनै अमुक पार्टीको पक्षपोषण गर्दै उक्त दलका कर्मचारी संगठनमा आवद्ध केही व्यक्तिको संरक्षण गरेको, जिल्लामा फष्टाउदै गएको भ्रष्टचारमा संलग्न रहेको, विभिन्न योजनाबाट कमिशन लिएको भन्दै यस्ता गतिविधि तत्काल सच्याउन आग्रह गरेको हो ।
कांग्रेस क्षेत्र नं–२ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा प्रजिअ नेपालले जिल्लामा प्रमुख जिल्ला अधिकारीको हैसियतमा रह“दा कुनै अमुक पार्टीको पक्षपोषण गरेको, जिल्ला प्रशासनमा नागरिकता र राहदानी लिन आउने सेवाग्राहीबाट आर्थिक लेनदेन गरेको, जिल्लाका विभिन्न कार्यालयका कर्मचारीमाथि पूर्वाग्रही ढंगबाट हुने गुण्डागर्दी, आक्रमण, गालीगलौज र अमर्यादित व्यवहारको अन्त्य गर्नु पर्ने भनिएको छ । त्यस्तै प्रजिअको प्रत्यक्ष अप्रत्यक्ष इसारामा जिल्लामा हुने विभिन्न गलत क्रियाकलाप रोक्नु पर्ने, आस्थाका आधारमा गरिने कर्मचारीहरूको सरुवा बढुवाको अन्त्य हुनुपर्र्ने, कमिशन लेनदेन रोकिनुपर्ने लगायतका विभिन्न ९ बुदे माग ज्ञापन–पत्रमा उल्लेख छ ।
सोमबार प्रजिअलाई बुझाइएको ज्ञापन–पत्रमा आफूहरुले लगाइएको आरोप आवश्यक परे प्रमाणसहित पेश गर्ने समेत जनाइएको छ । ज्ञापन–पत्रमा भनिएको छ,–‘प्रजिअको यस्तो गतिविधि तत्काल नसच्चिए चरनवद्ध आन्दोलन गर्न तयार छौं ।’
काग्रेसका नेताकार्यकर्ताले बुझाएको ज्ञापन–पत्र बुझ्दै प्रजिअ नेपालले भन्नुभयो,–‘आफूबाट गल्ती भएको भए सच्चिएर जाने छु ।’ उहाँले थप्नुभयो,–‘आफूले त्यसरी पूर्वाग्राही ढंगले काम गरेको छुइना, प्रमाण भए लिएर आउनुस्, छलफल गर्न तयार छु ।’
प्रजिअलाई बुझाइएको ज्ञापन–पत्र प्रधानमन्त्तीको कार्यालय, गृह मन्त्रालय, अख्तियार लगायतका विभिन्न निकायमा समेत पठाइएको ।
यसअघि युवा संघका केन्द्रीय सदस्य दिलचक्र राई समूहको आक्रमणबाट घाइते बनेका सिँचाइँ ईन्जिनियरलाई प्रजिअले उल्टै माफी मगाएका थिए भने, अन्य अपराधिक गतिविधि सञ्चालन गर्दै हिड्ने व्यक्तिहरुलाई समेत छुटकारा दिलाएका थिए ।