फागुन–१३, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अब बन्ने संविधान आकारको बलमा नभई विचारको आधारमा बनाउनुपर्ने बताउनुभएको छ । २१ औं जिल्ला परिषद् उद्घाटन गर्न गृह जिल्ला आउनुभएको अवसरमा जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष राईले यस्तो बताउनुभएको हो ।
अध्यक्ष राईले आकारको आधारमा बन्ने संविधान जनताको पक्षमा नहुने भन्दै सबैको विचारको आधारमा बन्ने संविधान मात्रै जनताको संविधान हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसमा ठूला दलले विशेष ध्यान नदिए देश ठूलो दुर्घटनामा फस्न सक्छ ।’
पूर्व यातायात मन्त्री तथा दोश्रो संविधानसभाको सदस्य समेत रहनुभएका अध्यक्ष राईले देशका ठूला राजनीतिक दलका नेताहरु जनताको संविधान निर्माणमा भन्दा पनि कसरी सत्ता हात पार्न सकिन्छ भन्ने खेलमा लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘ठूला दलका यहि प्रवृत्तिले फेरि पनि संविधान बनी हाल्छ भन्ने कुनै आधार तयार भएको छैन् ।’
जिल्लास्थित राजनीतिक दलहरुवीच परिषद् उद्घाटनका लागि प्रमुख अतिथि राख्ने विषयमा विवाद भएपछि परिषद् उद्घाटन गर्न आउनुभएको अध्यक्ष राईले अब बन्ने संविधानमा न्याय प्रणाली संघीय ढाँचाको हुनुपर्नेमा जोड दिनुभएको छ । केन्द्रीकृत न्याय प्रणाली हुँदा जनस्तरसम्म प्रभावकारी काम हुन नसक्ने भन्दै आफ्नो पार्टीले यस्तो मुद्दा उठाएको स्पष्ट पार्नुभयो ।
सदरमुकाम दिक्तेलस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष राईले संघ निर्माण गर्दा इतिहास, भूगोल, भाषा, धर्म, सँस्कार–सँस्कृतिको आधारमा गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसले कसैलाई असर नपर्ने र सबैले गर्व गर्ने अवस्था सृजना हुन्छ ।’
प्रमुख अतिथि तोक्ने विषयमा दलहरुवीच लामो समयसम्म विवाद भएपछि जिल्ला प्रवेशमा रोक लगाउने दल नेकपा एमालेले प्रमुख अतिथिमा अध्यक्ष राईलाई प्रस्ताब गरेको थियो । एमालेले गरेको प्रस्ताब अन्य दलले स्वीकारेपछि राई मंगलबार हुने २१ औं जिल्ला परिषद् उद्घाटनका लागि गृह जिल्ला आउनुभएको हो ।