फागुन–१४, जिल्ला पशुसेवा कार्यालय खोटाङले गाई र भैँसीको कृत्रिम गर्भाधान सेवा शुरु गरेको छ । कार्यालयले मुर्रा क्रस जातको राँगा र जर्सी जातको गोरुको बीर्य ल्याएर गाई तथा भैंसीको कृत्रिम गर्भाधान सेवा शुरु गरेको हो ।
नश्ल सुधार गर्दै जिल्ला उन्नत जातको गाईगोरु र राँगाभैंसी उत्पादनका लागि पहिलोपल्ट कृत्रिम गर्भाधान सेवा शुरु गरिएको कार्यालयका नासु ध्रुब कार्कीले जानकारी दिनुभयो । कृत्रिम गर्भाधन सेवा शुरु गरिएलगत्तै कृषकहरुले कार्यालयमा गाई र भैंसी ल्याउने क्रम शुरु भएको छ ।
भाले खोजेको गाई र भैंसीलाई कार्यालयमा ल्याएर कृत्रिम गर्भाधान गराउन सकिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । गाई र भैंसीलाई कार्यालयमा ल्याउन सम्भव नभए पशुसेवा कार्यालयसँग समन्वय गरी कर्मचारीलाई घरैमा लगेर पनि गर्भाधान गराउन सकिने नासु कार्कीको भनाइ छ ।
यसैगरी, जिल्ला पशुसेवा कार्यालयले बाँझेच्याडाँडा गाविसमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय राधाकृष्ण माविमा आयोजना गरिएको एक दिने शिविरमा १ हजार ३ सय ३४ वटा पशुपन्छीको उपचार गरिएको जनाइएको छ । पशुसेवा कार्यालयका अनुशार ९५ वटा गोरु, १ सय ३९ वटा भैंसी, ४ सय ६ वटा भेडाबाख्रा, २४ वटा बंगुर र ६ सय १९ वटा कुखुराको स्वास्थ्य परीक्षणका साथै औषधि बितरण गरिएको छ । यस्तै, १ सय १ वटा कुकुरलाई रेबिजविरुद्धको सुई दिइएको ना.सु. कार्कीले बताउनु भयो ।