फागुन–१७, खोटाङ जिल्लालाई गुण्डागर्दी तथा अराजकमुक्त बनाउनेबारेमा राजनीतिक दल र प्रशासनवीच लिखित प्रतिवद्धता जनाइएको छ । 
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकमा राजनैतिक दल, प्रशासन र सुरक्षा प्रमुखले जिल्लामा गुण्डागर्दी तथा अराजकता अन्त्यका लागि लिखित प्रतिवद्धता जनाएका हुन् । 
विभिन्न दलहरुको संरक्षणमा जिल्लामा संस्थागत हिसावले मौलाउँदै गएको गुण्डागर्दी र अराजकता नियन्त्रणका लागि राजनैतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुले आ–आफ्नो क्षेत्रबाट भूमीका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले गुण्डागर्दी तथा अराजक क्रियाकलापमा संलग्न समुहलाई आगामी दिनमा संरक्षण नगर्ने लिखित प्रतिवद्धता जनाएका छन् । 
दलहरुलाई जिल्लामा गुण्डागर्दी गर्ने र अराजक समुहलाई संरक्षण गरेको आरोप लाग्दैआएको छ । कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राई, एमालेका अध्यक्ष बबी चाम्लिङ, एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य होमकाजी आचार्य, राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठ, नेकपा–माओवादी नेता देबी रिजाल, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रहरी नायव उपरीक्षक गोबिन्द साह, सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम कोइराला लगायतले गुण्डागर्दी तथा अराजकता अन्त्याका लागि लिखित प्रतिवद्धता जनाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी र कांगे्रसबीचको बढ्दो विवाद समाधानका लागि बोलाइएको बैठकमा यस्तो प्रतिवद्धता जनाइएको नेताहरुले बताएका छन् । प्रमुख जिल्ला अधिकारी नेपाल अमुक पार्टीको ईसारामा चल्ने गरेको भन्दै कांग्रेस नेताहरू सार्वजनिकरुपमै बिरोधमा उत्रिएपछि दुई पक्षबीच बिवाद चुलिएको थियो ।
प्रमुख जिल्ला अधिकारीको भूमीका स्वतन्त्र, निष्पक्ष र अभिभावकीय नभएको भन्दै कांग्रेसले गत सोमबार सच्चिन आग्रह गर्दै प्रशासनमा ज्ञापनपत्र बुझाएपछि द्धिपक्षीय विवाद सतहमा आएको थियो । 
बैठकमा सरकारी कर्मचारीले दलीय झुकावका आधारमा नभइ तटस्थरुपमा सेवा प्रवाह गर्ने, प्रशासनले विभिन्न सरकारी कार्यालयबाट हुने आर्थिक अनियमितता नियमन गर्दै कारबाही गर्ने, फिल्ड स्तरका कार्यालयका कर्मचारीले अनिवार्यरुपमा कार्यस्थलमा बसेर सेवा गर्नेलगायतका निर्णय भएको छ ।