प्रदिप राई, फागुन-२५, क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जन मान सिंह वस्न्यातले नेपाली कामदारको हित हुने काम गर्न आफु सधै लागि परिरहेको वताएका छन् । नेपाली श्रमिकहरुको विषयमा ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसको प्रवासमा रहेको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति मलेसियाले शुक्रवार वुझाएको ध्यानाकर्षण पत्र वुझ्दै डा.वस्न्यातले यस्तो वताएका हुन्। 
बस्न्यातले भने,’सकेजति काम गरिरहेका छाँ । जे जति काम भैरहेको छ । त्यो नेपालीहरुको हितमा नै भएको छ ।’ आफु भर्खर चार महिना अगाडि मात्रै राजदूत भएर आएको उल्लेख गर्दै डा.वस्न्यातले भने,’मलेसियामा धेरै नेपालीहरु हुनुहुन्छ। धेरै काम हामीले गर्न बाँकी छ । प्राथमिकताको आधारमा नेपाली श्रमिकहरुको हित हुने कामलाई अगाडि वढाउँदै लगिने छ ।
नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा मलेसियामा नेपालीहरु कति संख्यामा रहेका छन् भन्ने द्वुविधा रहेको, जेलमा रहेका नेपाली श्रमिकहरुको संख्या, स्वदेश पठाउने प्रकृया तथा राज्य कोषवाट उनीहरुलाई निशुल्क स्वदेश फिर्ता गर्न मिल्ने हो भने पहल गर्नु पर्ने, यात्रा अनुमति पत्र लिएकाहरुलाई समेत प्रहरीहरुले समातेर थुनिरहेको अवस्थामा यात्रा अनुमति लिएकाहरु सुरक्षित हुने आधार नभएकाले ध्यान दिनुपर्ने, दूतावासमा सोधपुछ काउण्टरको व्यवस्था गर्नुपर्ने र सोधपुछ काउण्टरमा वस्ने कर्मचारीले श्रमिकको कुरा वुझेर सम्वन्धित निकायमा सरल तरिकाले पुर्‍याउने वातावरणको तत्कालै शुरुवात गर्नुपर्ने लगायतका उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र वुझाउन नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरु शुक्रवार नेपाली दूतावास पुगेका थिए।