फागुन–२७, खोटाङ जिल्लाको पश्चिमी गाविस डिकुवास्थित दाम्ली माविका अधिकांश विद्यार्थी विदा नभइ विद्यालय छाडेर घर जान्छन् । शिक्षकले छुट्टी दिएर होइन, उनीहरू भोक खप्न नसकेपछि विदा नभइ घर गएका हुन् ।
गरिबीले खानेजोहो गर्न भारी बोक्नु परेपछि आधा विद्यार्थी विद्यालय नआएको विद्यालयका प्रधानाध्यापक हरि खड्काले बताउनुभयो । उहाँका अनुसार साना नानीहरू भोक लाग्न थालेपछि एक बजे नै घर जान थाल्छन् । 
विद्यालय टाढा भएकाले आउन÷जान तीन घण्टासम्म समय लाग्ने र गरिबीले विद्यालयमा खाजाको जोहो समेत गर्न नसक्ने अवस्थाका बालबालिका एक बजे नै विद्यालय छाडेर घर फर्कन बाध्य भएको प्रअ खड्काको भनाइ छ । ‘आर्थिक अवस्था कमजोर हुने बालबालिकाले खाजा पनि ल्याउन सक्दैनन् ।’ प्रअ खड्काले भन्नुभयोे–‘भोक लागेपछि विद्यालय नै छाडेर जान्छन् । प्रअ खड्काले स्मरण गराउदै भने–‘एक दिन एउटा नानी कक्षामै ढल्यो । त्यो नानी भोकले ढलेको रहेछ । पसलमा लगेर एउटा चाउचाउ दिए ।’
यहाँका बालबालिका विदाको दिन जयराम पुलमा भारी बोक्न जाने गरेका छन् । ‘त्यहाँ भारी बोकेर कमाएको पैसाले कलम–कपि किन्छन् ।’ प्रअ खड्काले भन्नुभो–‘यहाँ पढ्न आउने बालबालिका अत्यन्त निम्न आर्थिक स्थिति छन् ।’ प्रअले थप्नुभाये–‘त्यस्ता नानीहरूलाई कम्तिमा टिफिन टाइममा खाजाको व्यवस्था गर्न पाए हुन्थ्यो ।’ 
यो विद्यालयमा पानी व्यवस्था छैन । बालबालिका घन्टौ लगाएर पानी खान्छन् । करिब चार किलोमिटर टाढाको कुवामा गएर बालबालिकाले पानी पिउने गरेको प्रअ खड्काले सुनाउनुभयो । विद्यालयका परिचरले दिनमा दुई÷तीन गाग्रो पानी बोकेर पनि साध्य नभएको प्रअ खड्काको भनाइ छ । उक्त विद्यालयमा चार सय १७ जना विद्यार्थी अध्ययनरत छन् । 
यो विद्यालयमा शिक्षकको पनि अभाव छ । निमावि राहत तीन, मावि राहत एक, दरबन्दीका तीन गरी जम्मा १२ जना शिक्षक छन् । उनीहरूलाई तलव खुवाउन हम्मे परेको प्रअ खड्काले जानकारी दिनुभयो । 
विद्यालयको पढाइमा गुणस्तर नभएकाले एसएलसीमा पनि विद्याललयले निल खाएको प्रअले स्वीकार्नुभयो । गत वर्ष एसएलसी दिएका ४३ जना सबै  अनुतीर्ण भएका थिए ।
पढाइको गुणस्तर सुधार्न थुप्रै प्रयास गरिएको प्रअ खड्काले सुनाउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई विद्यालयमा मोबाइल निषेध गरिएको छ । बालबालिकामा मोबाइल प्रयोगमा बृद्धि भएको र त्यसले ठूलै असर गर्ने निष्कर्ष निकाल्दै विद्यालयमा मोबाइल निषेध गरिएको  प्रअले बताउनुभयो ।
त्यसो त विद्यालयलाई सरकारी सुविधा पनि न्यून रूपमा उपलब्ध भएको प्रअले सुनाउनुभयो । उहाँका अनुसार शिक्षा कार्यालयमार्फत आर्थिक वर्ष २०६९÷७० मा दुई कोठे भवन, कम्प्युटरका लागि एक लाख ४० हजार रूपैयाँ बाहेक अन्य सहयोग उपलब्ध गराइएको छैन । उहाँले भन्नुभयो–‘विद्यालय र बालबालिकाको अवस्था यस्तो नाजुक छ, यसप्रति सम्बन्धित निकाय गम्भिर भइदिए आभारी हुने थियौं ।’