फागुन–२८, क्षमता भन्दा बढि थुनुवा भएपछि जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा रहेका थुनुवालाई समस्या भएको छ । १५ जना थुनुवाको क्षमता भएको उक्त हिरासत कक्षमा हाल ४७ जना भएपछि खान, बस्न, सुत्न, चर्पी जान, लुगा धुनलगायतका समस्या भएको हो ।
कर्तव्य ज्यान मुद्दाका ३७, सार्वजनिक अपराधका सात, बलात्कार आरोपका दुई र सवारी ज्यान मुद्दाका एक जना थुनुवालाई उक्त साँगुरो कोठामा राखिएको छ । उनीहरुमध्य तीन जना महिला रहेको जिल्ला प्रहरी कार्यालय खोटाङको मुद्दा फाँटका प्रहरी नायक निरीक्षक यादव गौतमले बताउनुभयो । 
जिल्ला प्रहरी कार्यालय खोटाङको भवन पुरानो भएको र नयाँ भवन निर्माणको चरणमा रहेकाले यस्तो समस्या आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थुनुवा सबैलाईलाई एउटै कोठामा कोचेर राखिएको छ । 
क्षमता भन्दा बढि थुनुवा भएकाले घटनाको अनुसन्धानमा समेत समस्या भएको गौतमको भनाइ छ । उनका अनुसार हिरासतमा राखिएका थुनुवाहरुको बारेमा कानूनी प्रक्रियामा जाँदा अनुसन्धानमा ढिलो हुने र कतिपयको म्याद थप्नुपर्ने भएकाले बढी समस्या भएको हो ।
एक्कासी थुनुवाको संख्या बढेसँगै उनीहरुलाई खाना खुवाउन, चर्पी लैजान, कपडा धुन, नुहाउन र सुत्न समस्या भएको प्रहरीले जनाएको छ । उनीहरुको अदालतमा मुद्दा चलिरहेको र कतिपयको म्याद थप गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान नहुने प्रहरीले जनाएको छ । तत्काल अन्यत्र सार्ने ठाउँ पनि नभएको र अन्यत्र राख्दा भाग्ने सम्भावना भएकाले यस्तो समस्या आएको प्रहरीको भनाइ छ ।