फागुन–३०, मलेसियामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङका एक मृतक परिवारले क्षतीपुर्ती पाएका छन् । गत मंसिर ९ गते मलेसियामा भएको सडक दुर्घटनामा ज्यान गुमाएका रतन्छा–२ का हरिप्रसाद फुयाँलको परिवारले बैदेसिक रोजगार प्रबर्धन बोर्ड तथा बीमा कम्पनीबाट क्षतीपुर्ती पाएका हुन् । 
मृतक परिवारले बोर्डबाट एक लाख ५० हजार तथा बीमा कम्पनीबाट ७ लाख ४ हजार रकम पाएका छन् । सीडीसी कम्पनीमा कार्यरत फुयाँल घरमा पैसा पठाएर कोठा फर्कनेक्रममा दुर्घटनामा परेका थिए । 
छुट्टीमा घर आएर पुनः कतार फर्र्किएको एक वर्ष नबित्दै फुयाँलको दुर्घटनामा ज्यान गएको थियो । कामदारहरुलाई खाना पकाउने काम गर्दै आएका फुयाँलको शव माघ–९ गते स्वदेश ल्याइएको सुरक्षित आप्रवासन परियोजना दिक्तेलका कार्यक्रम संयोजक नबिन्द्र राईले जानकारी दिनुभयो । 
हाल उनी कार्यरत कम्पनीबाट पाउन बाँकी तलबका लागि दावीको पहल थालिएको राईको भनाइ छ । मृत्यु भएको तीन दिनपछि मृतक परिवारले शव स्वदेश ल्याउनका लागि भन्दै सुचना केन्द्र समक्ष निबेदन दिएका थिए ।