चैत–२, सदरमुकाम दिक्तेलका कुखुरामा देखा परेको अज्ञात रोग रानीखेत भएको पुष्टि भएको छ । तीन साताअघि कुखुरामा देखा परेको अज्ञात रोगको परिक्षणपछि रानीखेत भएको पुष्टि भएको हो । 
बिराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा कुखुरालाई लगेर परिक्षण गरेपछि रोगको पहिचान भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । रोगको पहिचानकालागि तीन वटा कुखुरालाई गत अघिल्लो शुक्रबार बिराटनगर पठाइएको थियो । बिराटनगरमा कुखुरा पु¥याइएको दुई दिनपछि रोगको पहिचान भएको जानकारी आएको कार्यालयले जनाएको छ । 
पहिचान नभएको रोगको महामारीले दिक्तेलका दर्जनौं कुखुरा व्यवसायीले पालेका कुखुरा मरेका छन् । दाना नखाने, झोक्राउने, सेतो छेर्ने, टाउको बांगो हुने, तन्काउने लगायतका लक्षण देखिने रोगका कारण किसानका कुखुराको खोर नै रित्तो बनेको छ । लक्षण देखा परेको दुई दिनमै कुखुरा मर्ने गरेको दिक्तेलका व्यवसायी गुणराज शैंजूले बताए ।
दिक्तेलको हाटडाँडा क्षेत्रबाट शुरु भएको रोगको संक्रमण अहिले क्रमशः छिमेकी गाबिसमा समेत फैलिन थालेको छ । मरेका कुखुरालाई जथाभाबी मिल्काइएका कारण कुखुरामा महामारी फैलिनेक्रम नरोकिएको पशुसेवा कार्यालयले जनाएको छ । व्यवसायीकरुपमा पालन गरिएका कुखुरालाई मात्र खोप दिइएका कारण पनि रोगको नियन्त्रणमा आउन नसकेको व्यवसायीको भनाई छ ।