चैत–२, क्षेत्रीय पशु सेवा निर्देशनालयले पशुपन्छीबाट मानिसमा सर्ने जुनोसीस रोगबाट बच्नका लागि पशुपन्छीसँगको सम्पर्कमा विशेष ध्यान दिन आग्रह गरेको छ । रेबिज, बर्डफ्लु, ब्रुसेल्लोसीस, लेप्टोस्पाइरोसिस, टोक्सोप्लाज्मोसीस, हाइड्याटोसिस लगायतका जुनोसीस रोगबाट बच्नका लागि क्षेत्रीय पशु सेवा निर्देशनालय बिराटनगरले पशुपन्छीको सम्पर्कमा ध्यान दिन आग्रह गरेको हो । 
निर्देशनालयले जिल्ला पशु सेवा कार्यालय खोटाङमा ‘जुनोसीस रोग नियन्त्रण आयोजना अन्तरगत मिडिया ब्रिफ्रिङ’ कार्यक्रमको आयोजना गरी सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो । जुनोसीस रोगहरु मानिसबाट पशुपन्छी र पशुपन्छीबाट मानिसमा सर्ने भएका कारण पशुपन्छीसँगको सम्पर्कमा विशेष ध्यान पु¥याउनुपर्ने क्षेत्रीय पशु सेवा निर्देशनालय बिराटनगरका निर्देशक डा. बोधप्रसाद पराजुलीले बताउनुभयो । 
डा. पराजुलीले जुनोसिस रोगबाट बच्नका लागि कुकुरलाई नियमित रेविज रोग विरुद्धको खोप दिन, कुकुर दर्ताको कार्यक्रम संचालन गर्न, काँचो मासु छोएपछि साबुनपानीले हात धुन, मासु राख्न प्रयोग गरिएको भाँडाकुँडालाई सफा राख्न आग्रह गर्नुभयो । पराजुलीले संक्रमित क्षेत्रबाट पंक्षि तथा पंक्षिजन्य वस्तुको ओसारपसारमा प्रतिबन्ध लगाउन, तुहिएको पशुको सम्पर्कमा सावधानि अपनाउन, रोगी पशुपन्छी राखेको ठाउँमा निसंक्रमण गर्ने औषधि छार्न, बिरालोलाई काँचो मासु नदिन आग्रह गर्नुभएको छ ।