चैत–४, सुरक्षित आप्रवासन परियोजना (सामी)ले खोटाङका १६ गाविसमा बैदेसिक रोजगार सम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ । बैदेसिक रोजगारलाई सुरक्षित, उपलब्धीमूलक र भरपर्दो बनाउन सचेतना फैलाउने उद्देश्यले परियोजनाले जिल्लाको टेम्मा, याम्खा, डाँडागाउँ, छोरम्बु, छितापोखरी, स–छितापोखरी, चिप्रीङ, इन्द्रेणीपोखरी, खोटाङबजार, सिमपानी, लिच्कीराम्चे, बुइपा, अर्खौले, हलेसी, दुर्छिम र खार्मीमा सडक नाटक प्रदर्शन गरेको हो । 
गत फागुन १७ गते टेम्माबाट शुरु गरिएको सडक नाटक ‘कथा विदेशको भाग–३’ उत्तरी गाविस खार्मीमा पुगेर समापन गरिएको परियोजनाले जनाएको छ । गत वर्ष ‘कथा विदेशको भाग–२’ र सो भन्दा अघिल्लो वर्ष ‘कथा विदेशको’ नामक सडक नाटक प्रदर्शन गरेको परियोजनाले यसपल्ट ‘कथा बिदेशको भाग–३’ प्रदर्शन गरेको परियोजनाका संयोजक नबिन्द्र राईले जानकारी दिनुभयो । 
बैदेसिक रोजगारमा जानुअघि सिक्नु पर्ने सीप, पैसा दिएपछि भर्पाई लिन नभुल्न, भाषा सिकेर मात्र विदेश जान, विदेश जानुअघि आवश्यक कागजातको प्रतिलिपी घरमा छाड्न र एकप्रति साथमा सुरक्षित राख्नुपर्ने लगायतका सन्देशहरु समेटिएको सडक नाटक प्रदर्शन गरिएको हो । ‘हामी सडक नाटकमा माध्यामबाट युवायुवतीलाई सकेसम्म स्वदेशमै रोजगारी गरौँ भन्छौँ,’ परियोजनाका संयोजक राईले भन्नुभयो, ‘यदि बिदेश जाने नै भए सिप र तालिम सिकेर तथा जानकारी लिएर मात्र बिदेश जान प्रोत्साहित गर्छौँ ।’ 
सडक नाटकमा स्थानीय कलाकारहरु योगिन राई, यशोधा राई, सुरेन्द्र राई, कबि राई, ममता राई, राजेन्द्र ढुंगाना र अंकिता राईले अभिनय गर्नुभएको थियो । 
यसैगरी, ग्रामिण पुर्ननिर्माण संस्था आरआरएनले पनि जिल्लाका चार गाविसमा सडक नाटक प्रदर्शन गरेको छ । चिप्रीङ, इन्द्रेणीपोखरी, दुर्छिम र खार्मीमा प्रकोप जोमिख न्यूनीकरण सम्ब्न्धी सडक नाटक प्रदर्शन गरेको आरआरएनले जनाएको छ ।