चैत–४, सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाले बिछ्याएको माइन बम बिष्फोटबाट खुट्टा गुमाएकी खोटाङकी एक महिलाले छ वर्ष बितिसक्दा पनि क्षतिपूर्ति पाएका छैनन् । माओवादी द्वन्द्वको समयमा देब्रे खुट्टा गुमाएकी सुन्तले २ की ३५ वर्षीय शान्तादेवि बञ्जराको परिवारले हालसम्म पनि क्षतीपुर्ती नपाएका हुन् । 
बञ्जरा घाँस काट्न गएको समयमा २०६४ साल चैत्र–१० गते माइन बम बिष्फोटमा पर्नुभएको थियो । द्वन्द्वको समयमा सुन्तलेको सुनापातालस्थित नेपाल टेलीकमको रिपिटर टावरको सुरक्षार्थ खटिएका सेनाले बिछ्याएको माइन बम बिष्फोटमा शान्तादेविले देब्रे खुट्टा गुमाउनुभएको हो । 
२०६८ साल साउन–४ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी नायव उपरीक्षक वसन्तकुमार थापा, जिल्ला अस्पताल खोटाङका डाक्टर ओमबिजु पन्त लगायतले बञ्जरालाई शान्ति तथा पुर्ननिर्माण मन्त्रालय समक्ष राहतका लागि सिफारिस गर्नुभएको थियो । राहतको माग गर्दै ५ वर्षअघि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि द्वन्द्व पीडितले पाउने राहत रकम हालसम्म पनि नपाएको शान्तादेविका श्रीमान तारानाथ बञ्जराले गुनासो गर्नुभयो । 
बम बिष्फोटबाट बञ्जराको देब्रे खुट्टाको घुँडामुनिको भाग चुँडिएको छ । बिष्फोटबाट अपांग निम्न आर्थिक स्तरका बञ्जरा अपांग बनेपछि ९ छोरी र एक छोराको लालनपालन र पठन पाठनमा समस्या भइरहेको तारानाथको भनाइ छ । 
एक्लो तारानाथको कमाइले पछिल्लो समय बञ्जराको परिवार धान्न मुस्किल पर्न थालेको छिमेकीहरु बताउँछन् ।