चैत–११, खोटाङमा बलत्कारको घटनालाई राजनीतिक दबाबमा रकम लेनदेनमा मिलापत्र गरेको खुलासा भएपछि स्थलगत अध्ययन शुरु गरिएको छ । फागुन २५ गते राती ४० वर्षीया महिलाकै घर पुगेर बलात्कार गरेको आरोपमा २९ गते पक्राउ परेका सप्तेश्वर ८ का १७ वर्षीय सन्देश राईलाई एमाले समर्थक नेताहरुको दबाबमा एक लाख रुपैयाँ दिने र जग्गासमेत पास गरिदिने शर्तमा मिलापत्र गरेको खुलासा भएपछि मानव अधिकार आयोग, ईन्सेक र महिला मानव अधिकार रक्षक सञ्जालले स्थलगत अध्ययन शुरु गरेको हो । 
बलाल्कार गरेको आरोपमा पक्राउ परेका राईलाई आठ दिनसम्म प्रहरी हिरासतमा राखिएपनि रकम लेनदेनमा मिलापत्र गरिएपछि अनुसन्धानै नगरी छाडिएको घटनाप्रति ध्यानाकार्षण भएको जनाउँदै उक्त टोलीले स्थलगत अध्ययन गरेर कानूनी कारबाहीको लागि सिफारिस गर्ने भएको छ । जबरजस्ती करनी जस्तो जगन्य अपराधका घटनालाई राजनीतिक दलको दबाबमा मिलापत्र गराइएपछि थप अनुसन्धान गरेर कानूनी कारबाहीका लागि सिफारिस गर्न स्थलगत अध्ययन शुरु गरिएको राष्ट्रिय मानव अधिकार आयोग उप–क्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले बताउनुभयो । 
उक्त घटनालाई प्रहरीले समेत चासो नदिएको भन्दै आयोगले यसअघि जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहलाई आयोगको कार्यालयमा झिकाएर पीडकलाई पुनः पक्राउगरी कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ । राजनीतिक पार्टीको दबाबमा परेर पीडितलाई न्याय दिनुको साटो उल्टै पीडकलाई उन्मुक्ती दिएको भन्दै तत्काल पक्राउगरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो । 
श्रोतका अनुसार प्रहरी नायव उपरीक्षक साहले अभियुक्तलाई पुनः पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउन मातहतका प्रहरीलाई खटाइसकेको बताएका छन् । यसअघि पीडित महिला जिल्ला प्रहरी कार्यालय खोटाङमा उपस्थित नभएपछि आरोपित विरुद्ध कानूनी कारबाहीको प्रक्रिया अघि नबढाई छाडिएको प्रहरीले जनाएको थियो । 
श्रोतका अनुसार मिलापत्रमा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कुमार आचार्य, सप्तेश्वर गाविस निवासी एमालेका कार्यकर्ता माइतीराज राई, नरेश राईलगायत नेता कार्यकर्ताहरु संलग्न रहेको बुझिएको छ । आचार्यले भने, आफू उक्त छलफलमा सहभागी नभएको प्रतिक्रिया दिनुभएको छ ।