चैत–१६, खोटाङ यातायात व्यवसायी संघको अध्यक्षमा गणेशविक्रम शाही सर्वसहमतीमा निर्वाचित भएका छन् । ‘खोटाङको यातायात, खोटाङकै विकास’ भन्ने नारासहित शनिबार सम्पन्न दोश्रो अधिबेसनबाट शाही अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । 
१९ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टेकेन्द्र राई चयन भएका छन् भने, संघको चार उपाध्यक्षमा बस, ट्रक, जीप र ट्याक्टर व्यवसायी संघका प्रतिनिधिहरुलाई राखिएको छ । बस व्यवसायी संघका प्रतिनिधि फडिन्द्र राई, ट्रक व्यवसायी संघका प्रतिनिधि भीम राई, जीप व्यवसायी संघका प्रतिनिधि मनिन्द्र राई र ट्याक्टर व्यवसायी संघका प्रतिनिधि बिष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ उपाध्यक्षमा चयन भएका हुन् । 
संघका महासचिवमा राजकुमार राई, सचिवमा रामकुमार हिङमाङ, कोषाध्यक्षमा सन्तोषबाबु आचार्य र सहकोषाध्यक्षमा महेश अधिकारी चयन भएका छन् । 
अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष शाहीले पुरानो कार्यसमितिको कार्यकालमा भएको आर्थिक हिनामिनाका विषयमा महिना दिनभित्र छानबिन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–‘पुरानो कार्यसमितिले गरेका राम्रा कामलाई निरन्तरता दिदै आर्थिक हिनामिनाका विषयमा पनि छानबिन गरिनेछ ।’
२०६४ साल पुस–२२ गते जयरामघाट–दिक्तेल–चखेवाभञ्ज्याङ ढुवानी तथा यातायात व्यवसायी संघका नाममा गठन गरिएको संघको तदर्थ समितिलाई २०६६ साल माघ १९ गते खोटाङ यातायात व्यवसायी संघ बनाइएको थियो । खोटाङमा २०६४ साल पुस–२० गते मनाङ एयरको हेलीकोप्टरमार्फत बा १ ख १४२० र १४२२ नम्बरको आइसर ट्रक भित्र्याइएको थियो ।