चैत्र–१९, किर्ते कागजात तयार गरी नागरिकता लिन खोज्ने खोटाङका तीन जनालाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको छ । किर्ते कागजातका आधारमा नयाँ नागरिकता र पूरानो नागरिकताको प्रतिलिपी लिन खोज्ने तीन व्यक्तिलाई प्रशासनले मंगलबार नियन्त्रणमा लिएको हो । 
उमेर बढाएर नागरिकता बनाउन खोज्ने बाक्सिला–४ का कल्याण राई, जन्म मितिलाई थपघट गर्दै नागरिकता लिन खोज्ने खिदिमा–८ का भीम राई र राईकी श्रीमती रामकुमारी राईलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । उहाँले भन्नुभयो,–‘फोटोकपी गर्नेक्रममा सक्कली प्रमाण–पत्रलाई ढाकेर जन्म मिति फेरबदल गरेर नागरिकताका लागि आवेदन दिएको भेटिएपछि नियन्त्रणमा लिइएको हो ।’ 
शैक्षिक प्रमाण–पत्रमा २०५४ साल जन्म मिति भएका कल्याणले २०५० सालको मिति बनाउन खोजेका थिए । वि.सं.१९९८ साल माघ–१२ गते जन्म मिति भएका भीमले मंसिर–१२ गतेको नागरिकता बनाउन खोजेको प्रजिअ नेपालको भनाइ छ । उहाँका अनुसार भीमले श्रीमतीको उमेर समेत एक वर्ष बढाएर नागरिकताको प्रतिलिपि लिन खाजेको खुलासा भएको छ । 
किर्ते कागजातका आधारमा नागरिकता बनाउन खोजिएको विषयमा अनुसन्धान थालिएको प्रजिअ नेपालले बताउनुभयो । अनुसान्धानमा के खुल्छ त्यही अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने नेपालको भनाइ छ ।