चैत–२०, खाद्य संकटग्रस्त मानिएको खोटाङ जिल्लामा अनुदानको चामल अभाव हुन नदिन जिल्लाका सभाषदको टोलीले नेपाल खाद्य संस्थाको केन्द्रीय कार्यालयमा पुगि तत्काल जिल्लामा अनुदानको चामल व्यवस्था गराउन दबाब दिएको छ । खोटाङ क्षेत्र नं. २ का सभाषद विशाल भट्टराईको नेतृत्वमा गएका सभाषदको टोलीले खाद्य संस्थानका महाप्रवन्धक डा.शिवहरी श्रेष्ठ र उच्च पदस्थ अधिकृतहरुसँग भेट गरी खोटाङ जिल्लामा तत्काल चामल पठाउन दबाव दिएको हो । 
क्षेत्र नं. १ का सभाषद पाँचकर्ण राई (पिके) र समानुपातिक सभाषद सरस्वती बजिमय सहित संस्थान पुगेका सभाषदहरुले तत्कालै एक हजार क्वीन्टल चामल खोटाङ जिल्लालाई पठाउने सहमती गराईएको डेलिगेसन टोलीको नेतृत्व गरेका सभाषद भट्टराईले बताउनुभयो । यसै क्रममा टोलीले सशस्त्र द्धन्दको समयमा विस्थापित भएको चिसापानी गाविसस्थित खाद्य संस्थानको डिपो पुन स्थापना गराउन माग गरेका छन् । चिसापानी गाविसमा रहेको डिपो सशस्त्र द्धन्दमा ०५८ सालमा विस्थापित भएको थियो । 
यसैबीच, खोटाङ जिल्लालाई आवश्यक पर्ने चामल यो वर्ष तुलनात्मक रुपमा कम आएकाले वर्षादमा खाद्यन्न संकट हुने अनुमान खाद्य संस्थानले गरेको छ । जिल्लामा आर्थिक वर्ष ०७०।०७१ को लागि पाँच हजार क्वीन्टल चामल आएको छ । वार्षिक रुपमा खाद्य संस्थानले दिक्तेल डिपोबाट तीन हजार क्वीन्टल, खोटाङबजार डिपोबाट १२ सय क्वीन्टल, बाक्सिला डिपोबाट १५ सय क्वीन्टल र ऐसेलुखर्क डिपोबाट १५ सय क्वीन्टल चामल वितरण गर्दै आएकोमा यस वर्ष जिल्लामा खाद्यन्न समस्या हुने खाद्य संस्थानका डिल्लीकुमार थापाले बताउनुभयो ।