चैत–२४, जिल्ला प्रशासन कार्यालय खोटाङले पहिलोपल्ट कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण शुरु गरेको छ । यसअघिसम्म हस्त लिखित नागरिकता प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालयले आईतबारदेखि कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण शुरु गरेको हो । 
सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलको हातबाट दुबेकोल गाबिसकी सरु पोखरेलले जिल्लामा कम्प्यूटर प्रणालीको पहिलो नागरिकता प्राप्त गर्नुभएको छ । सेवा शुरु गरिएको पहिलो दिन जिल्लाका २३ जनाले कम्प्यूटर प्रणालीबाट नागरिकता लिएको प्रशासनले जनाएको छ । नागरिकताको अक्षरमा स्पष्टता, अंग्रेजी मितिमा हुने त्रुटी लगायतबाट सर्वसाधारणलाई मुक्ती दिँदै छिटो र छरितो तरिकाले सेवा प्रदान गर्नकालागि कम्प्यूटर प्रणालीबाट नागरिकता बितरण शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । प्रशासनले दैनिक ६० देखि ६५ जनालाई नागरिकता वितरण गर्दैआएको छ । 
कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण शुरु गरिएसँगै परिवारका तीन पुस्ताका सदस्य बाहेक अन्यले गरेको सनाखतलाई कम्प्यूटरको सफ्टवेयरले स्वीकार नगर्ने प्रशासनले जनाएको छ । कम्प्यूटर प्रणालीबाट नागरिकता लिनकालागि अवदेखि परिवारका तीन पुस्ताको सनाखत अनिवार्य भएको छ । 
यस्तै, आगामी १५ देखि २० दिनभित्र २०६२ असार–३ यताको नागरिकताको प्रतिलिपी पनि कम्प्यूटर प्रणालीबाट वितरण गरिने प्रशासनले जनाएको छ । कार्यालयकालागि आवश्यक व्यकप जुटाएर २०६२ असार–३ यताको नागरिकताको प्रतिलिपी कम्प्यूटर प्रणालीबाटै दिने व्यवस्था मिलाइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।