चैत–२४, खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारका ३ वटा सामुदायीक वनमा लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको छ । खोटाङवजार–४ र ७ मा पर्ने मड्केला सामुदायिक वन, खोटाङबजार–३ मा पर्ने चैनपुर सामुदायिक वन र खोटाङबजार–६ र ९ मा पर्ने खोटाङपाखा सामुदायिक वनमा गत बुधबारदेखि लागेको डढेलो नियन्त्रणमा आएको हो ।
स्थानीयबासीका अनुशार डढेलोले सामुदायिक वनको ४ हजार हेक्टर क्षेत्रफलभित्रका वन पैदावार वस्तु र पशुपन्छी नष्ट बनाएको छ । इलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी र स्थानीयबासीको पहलमा चार दिनपछि आगो नियन्त्रणमा आएको उपभोक्ता निर्मला शर्माले जानकारी दिनुभयो । 
सामुदायिक वनको पत्कर र सोत्तर बढारेर तथा अग्नि रेखा बनाएर डढेलोलाई नियन्त्रणमा लिइएको शर्माको भनाई छ । ‘वनको पुछारबाट डढेलो आउँदै थियो, हामीले पनि माथिबाट पत्कर सोहोरेर उँदोतर्फ आगो लगायौँ,’ शर्माले भन्नुभयो, ‘दुबैतर्फको आगो बीचमा भेट भयो र डढेलो निभ्यो ।’ 
डढेलोले खोटाङपाखा र चैनपुर सामुदायिक वनमा खोटो संकलनका लागि राखिएका सोली र सोलीमा जम्मा भएका खोटो समेत डढेको छ । डढेलोले खोटाङबजारका बस्ती तथा खोटाङवजार–९ मा रहेको नमस्ते र स्काइ मोवाइलको टावर जोखिममा परेको थियो । 
डढेलो लगाउनेको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।