चैत्र–२४, खोटाङमा सबै राजनैतिक दलहरुको महिला नेतृ सम्मिलित अन्तरपार्टी महिला सञ्जाल गठन गरिएको छ । 
जिल्लामा क्रियासिल राजनैतिक दलमा आवद्ध महिला नेतृहरुको भेलाले कांग्रेसकी बिमला राईको अध्यक्षतामा १४ सदस्यीय अन्तरपार्टी महिला सञ्जालको जिल्ला कार्य समिति गठन गरिएको हो । 
समितिको उपाध्यक्षमा एमालेकी  संगीता राई, सचिवमा एमाओबादीकी दुर्गाजयन्ती राई र कोषाध्यक्षमा राप्रपाकी कल्पना राइलार्ई चयन गरिएको छ । सञ्जालले जिल्लामा साझा राजनैतिक फोरमकारुपमा काम गर्ने जनाइएको छ । खोटाङ अन्तरपार्टी सञ्जाल गठन भएको ७१ औं जिल्ला बनेको छ । 
सञ्जालकी केन्द्रीय सदस्य एबं सभाषद ममता गिरी र केन्द्रीय सदस्य एबं पूर्वसभाषद जनक चालिसेको उपस्थितिमा सञ्जालको जिल्ला कार्य समिति गठन गरिएको नवनिर्वाचित सचिव राईले जानकारी दिनुभयो । 
नयाँ पदाधिकारी एबं ६ वटा राजनैतिक दलहरुमा आवद्ध महिला नेतृलाई सहभागी गराएर सोमबार महिला लैंगिक उत्तरदायी बजेटका बिषयमा प्रशिक्षण सञ्चालन गरिएको सञ्जालले जनाएको छ । 
मंगलबार पनि स्थानीय निकायको निर्वाचन, महिला हिंसा र निर्वाचन प्रणालीका बारेमा प्रशिक्षण दिइने सचिव राईको भनाई छ । तीन दिनसम्म सञ्चालन गरिने प्रशिक्षणका कार्यक्रमलाई बुधबार समापन गरिने सञ्जालले जनाएको छ ।