चैत्र–२५, शैक्षिक सत्र शुरु हुन केही दिन मात्र बाँकी रहँदा समेत खोटाङमा विद्यालयस्तरका पाठ्यपुस्तक भित्रिएका छैनन् । पाठ्यपुस्तक बिक्रीका लागि जिल्ला शिक्षा कार्यालयबाट सिफारिस पाएका जिल्लास्थित ४ पुस्तक पसलहरुमा अझै पनि पाठ्यपुस्तक नआइपुगेको हो । 
जिल्ला शिक्षा कार्यालयका अनुसार पाठ्यपुस्तक बिक्रीका लागि जिल्लाका ४ वटा दर्ता भएका पुस्तक पसलहरुले ढुवानीका लागि सिफारिस लगेका छन् । सैंजु पुस्तक पसल दिक्तेल, न्यु शाक्य पुस्तक पसल दिक्तेल, किरात पुस्तक पसल हलेसी र घिमिरे बुक्स एण्ड स्टेसनरी सिम्पानीले यो वर्ष पाठ्यपुस्तक बिक्रीका लागि जिल्ला शिक्षा कार्यालयमा सिफारिस माग गरेका हुन् । 
सहज रुपमा विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीका हातमा पुस्तक पुगोस् भन्ने अभिप्रायले सबैलाई सिफारिस गरिदिएको जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईँले बताउनुभयो । हालसम्म कुनै पनि पुस्तक पसलले जिल्लामा पुस्तक ल्याएर विद्यालयलाई उपलब्ध गराउन सकेका छैनन् । 
चापागाईँका अनुसार जिल्लाका सबै विद्यालयका बैंक खातामा पाठ्यपुस्तक अन्तर्गतका रकम जम्मा गरिएको छ । पुस्तक समयमा बितरण गर्ने नगर्ने भन्ने कुरा  सिफारिस प्राप्त पुस्तक बिक्रेता पसल तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुमै भर पर्नेे जिशिअ चापागाईको भनाइ छ । 
यता, आफूहरुले पुस्तक पसललाई पुस्तक माग गर्ने गरेको र पुस्तक पसलले नै विद्यालयलाई पुस्तक उपलब्ध गराईदिने विद्यालयका शिक्षकहरुको भनाइ छ । विद्यालयले सैंजु पुस्तक पसललाई आफ्नो विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक माग गरिसकिएको सदरमुकामस्थित सरस्वती उच्च माबिका प्राचार्य राजनशेर राईले बताउनुभयो । 
पुस्तक आईपुग्न अझै केही दिन लाग्ने सैंजु पुस्तक पसलका सञ्चालक गेहकुमार सैंजूको भनाइ छ । दिक्तेलकै न्यु शाक्य पुस्तक पसलले पनि छिटै पुस्तक ल्याउने पहल भइरहेको जनाएको छ । 
जिल्लाका उत्तरी गाविसमा अवस्थित कालिका मावि खार्मीका प्रधानाध्यापक युद्घबहादुर राईले भने सदरमुकामस्थित कबिता स्टेसनरीमा पुस्तक माग गरेको तर हाल आफु व्यस्त रहेकोले पुस्तक आयो आएन भनेर सम्पर्क गर्न नसकेको बताउनुभयो । गत शैक्षिक सत्रमा पाठ्यपुस्तक ढिलोगरी प्राप्त हँुदा पठनपाठनमा प्रभाव परेको शिक्षकहरुको भनाइ छ । 
पुस्तक अभावमा विशेष गरी कक्षा–९ र १० का विद्यार्थीहरु मारमा पर्ने गरेका छन् । अघिल्लो शैक्षिक सत्रमा साउन महिनासम्म पनि जिल्लाका कतिपय विद्यार्थीले पुरा पाठ्यपुस्तक पाएका थिएनन् ।  
गत वर्षसम्म साझा प्रकाशनमार्फत बितरण गरिने पाठ्यपुस्तक यो वर्षदेखि जनक शिक्षा सामाग्री केन्द्र आफैले बिक्री बितरण गर्ने भएको छ । यो वर्ष जनक  शिक्षा सामाग्री केन्द्रको क्षेत्रीय बितरण केन्द्र जनकपुरबाट बिक्रेताहरुले सिधै पुस्तक ल्याउने व्यवस्था मिलाइएको छ ।