चैत–३०, क्रमशः दिन ढल्दै थियो । चैत्रको गर्मी मौसममा खोटाङ हलेसीमहादेवस्थानको माहोल सांगीतिक रमझमले थप तात्दै गयो । रामनवमीको अवशरमा चोमोलुङमा सेवा समाज हलेसीको आयोजना एबं तातिम इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा भएको ‘बृहत सांगीतिक कार्यक्रम २०७०’ मा आधा दर्जन कलाकारहरुको सांगितीक प्रस्तुति सकिएपछि पालो आयो गायक बिनोद खम्बूको ।
‘झन् झन् खायो, झन् झन् मिठो, बोलको गीतबाट आफ्नो सांगीतिक प्रस्तुती थालेका गायक खम्बूले ६ वटा गीत गाएर महेन्द्रोद्धय उच्च माबिको प्रांगण तताए । स्टेज पुग्नासाथ दर्शकको तालीको स्वागत पाएका खम्बूले ‘बुटवलकी हौं की’, ‘सानोमा सानो गाई कोरली’ले लगायतका गीत गाएर दर्शकलाई सांगीतिक मनोरञ्जन दिए । खोटाङको खिदिमा पुर्खौली थलो भएका गायक खम्बूको सबै गीतमा घरेलु दर्शकले तालीमात्र बजाएनन्, पसिना छुट्नेगरी नाचेर साथ दिए । खम्बूले पनि पसिनाको धारो छुट्दासम्म दर्शकबाट छुट पाएनन् । खचाखच बसेका र उभिएका दर्शक दिर्घाबाट आएको ‘वान्समोर’को अफरले कार्यक्रम स्थल गुन्जयमान बनेको थियो ।
को भन्दा को कम ? गायीका ममता राईले पनि दर्शकलाई ताली पिट्दै नचाइन् । बुईपामा जन्मिएकी गायीक राईले आफ्नै एल्बम ‘ममता’को ‘म त मायाँमा हारेको मान्छे’, ‘मेरो मनमा बस’, ‘तुना मुना लगायौ’ लगायतका बोलको गीत सुनाइन् । कार्यक्रममा गायीका पार्वती राई, प्रदेश लिम्बू, महेश हाङखिम, नारायण आचार्य, रामबाबु राई लगायतले आ–आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । गीतमा झुमेर नाचेका दर्शकको भीडलाई नियन्त्रण गर्न आयोजकलाई हम्मे–हम्मे परेको थियो ।
गायक गायीकाको सुरिलो स्वरमा लट्ठिएको माहोललाई चर्चित नृत्याङ्गना पार्वती राईले उस्तैगरी तताइन् । पार्वतीलाई अर्की नृत्याङ्गना चेत सुनारले साथ दिएकी थिइन् । रामनवमीको अवशरमा हलेसीमा लाग्ने मेलालाई लक्षीत गर्दै बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।