चैत–३०, आगलागीमा परी घर जलेपछि खोटाङका एक परिवार रुखको छहारीमा बास बस्न बाध्य भएका छन् । भैंसीलाई खोले पकाएपछि छाडिएको आगोबाट जिल्लाको उत्तरी गाविस जलेश्वरी–६ का खड्गबहादुर गिरीको परिवार रुखको छहारीमा बस्न बाध्य भएका हुन् ।
शनिबार बिहान भएको आगलागीबाट गिरीको घर पूर्णरुपमा नष्ट भएको प्रहरीले बताएको छ । आगलागीबाट गिरीको घरमा भएका ३ तोला सुन, अन्न, सोलार, भाँडाकुँडा, कपडा लगायतका घरायसी सामान जलेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।
गिरीको ६ लाख बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । भैंसीलाई खोले पकाएर ननिभाइ छाडिएको आगोलाई हावाले उँडाएपछि आगलागी भएको गिरीका भतिजा निरकुमार गिरीले बताउनुभयो ।
आगलागीमा घर र बन्दोबस्तीका सामान जलेपछि गिरी दम्पत्ती नजिकैको चिराउनेको फेदमा बसिरहेका छन् । गिरी दम्पत्तीका २ छोरा बिदेशमा, एक छोरा तरहरामा छन्, भने एकमात्र छोरी बिवाहपछि आफ्नै घरमा छन् ।