बैशाख–२, जबरजङ्ग गण मुडे ब्यारेकका सैनिक जवानद्वारा एक सञ्चारकर्मी युवतीमाथि बलात्कार प्रयास गरिएको बारेको उजुरी प्रहरीमै लाग्ने जिल्लास्थित कानुन व्यवसायीहरूले बताएका छन् । प्रहरीले उजुरी लिन नमानेपछि उनीहरूले त्यस्तो बताएका हुन् ।
जिल्ला अदालतका स्रेस्तेदार भिष्म भट्टराईले करणी उद्योगको मुद्दा प्रहरी मार्फत अदालतमा लाग्ने बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयका निमित्त प्रमुख लोकनाथ घिमिरेले प्रहरीले उजुरी लिन नमानेकोप्रति आश्चर्य व्यक्त गर्नुभयो । जबरजङ्ग गण मुढे ब्यारेकका कर्णेल रामबहादुर थापाले भने सैनिक अदालतले दोषीमाथि छानविन बढाइसकिएको बताउनुभयो । गणका सिपाही उपेन्द्र बस्नेतले २१ गते साझ सञ्चारकर्मी युवतीमाथि बलात्कार प्रयास गरेका थिए ।
सोलुखुम्बु काँगेल–८ का बस्नेतले थामखोरे जङ्गलको बाटोमा बलात्कार प्रयास गरेका थिए । बस्नेतले बाटोदेखि १०–१५ मिटर तलसम्म घिसारेर बलात्कार प्रयास गरेको पीडितले युवतीको भनाइ छ । पीडितले बस्नेतलाई हुत्याएर भाग्न सफल भएको बताइएको छ । बस्नेतलाई त्यसै साझै पक्राउ गरेर सेनालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहको टोलीले पक्राउ गरेको हो । बस्नेतलाई बलात्कार केसमा नभई लुटपाटमा संलग्न भनेर सेनालाई बुझाइएपछि विरोध भएको थियो ।
प्रहरीले सैनिक ऐन २०१९ को उपदफा ६० र ६१ ले ज्यान र बलात्कार मुद्दा बाहेक अन्य मुद्दामा मात्र गैर–सैनिक अदालतमा कारबाही हुने व्यवस्था भएकाले करणी उद्योगको मुद्दा चलाउन नसकिएको बताउँदै आएको छ । कर्नेल थापाले सैनिक अनुशासन विपरित गैर–सैनिकमाथि सैनिक अनुशासन विपरित संलग्न देखिएकाले सैनिक हिरासतमा राखेर अनुसन्धान बढाइएको बताउनुभयो । ‘सैनिक अनुशासन विपरित गैर–सैनिक लुटपाट र करणी प्रयासमा संलग्न देखिएकाले अनुसन्धान सुरु गरिएको छ ।’ कर्नेल थापाले भन्नुभयोे–‘यदी गल्ति ठहरिए दुबै मुद्दामा कारबाही हुन्छ ।’