बैशाख–२, खोटाङको बाक्सिलास्थित पृथ्वी उच्च माविको जग्गा किनबेच प्रकरणबारे जिल्ला अदालत खोटाङले सक्कल कागजात पेश गर्न आदेश दिएको छ । जिल्ला न्यायधिश इश्वरीप्रसाद गौतमको एकल इजलासले सक्कल कागजात पेश गर्न आदेश दिएको हो ।
यसबारे अख्तियारले पनि छानविन गरिरहेकाले त्यसतर्फ पनि कागज मागिएको जिल्ला अदालतका स्रेस्तेखार भिष्म भट्टराईले बताउनुभयो । विद्यालयको जग्गा गाविस सचिव, मालपोत कर्मचारी र विद्यालयकै शिक्षकको संलग्नतामा अर्कैको नाममा दर्ता गराएर किनबेच भएको खुलासा भएपछि अदालतमा मुद्दा परेको थियो ।
विद्यालयकी प्राचार्य जानुका राईका अनुसार गाविस सचिव होमनाथ खनालको सिफारिसमा सुङ्देल–४ की ५५ वर्षीया ध्यानसरी राई र बाक्सिला–७ की पञ्चरीषी राईको नाममा छुट्टा–छुट्टै दर्ता गराएर बिक्री समेत गरिएको हो । गाविस सचिव खनालले २०६५ साल असार ४ गते पञ्चरीषीलाई र २०६६ असार ३ गते ध्यानसरी राईलाई आफ्नो नाममा विद्यालयको जग्गा दर्ता गराउन सिफारिस गरेका थिए ।
जग्गा दर्ताका लागि विद्यालयकै शिक्षक छत्रकुमार राई र रणबहादुर राईले सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेका छन् । त्यही सिफारिसको आधारमा त्यतिखेरको मालपोत अधिकृत युवराज आचार्यको निर्णय नं.–३७÷४०÷२०६८ को आधारमा कित्ता नं.–४३४ को दुई रोपनी तीन आना तीन पैसा दुई दाम मध्ये एक रोपनी ११ आना एक पैसा एक दाम क्षेत्रफल जग्गा २०६८ असार दश गते ध्यानसरी राईको नाममा दर्ता गरिएको हो ।
कित्ता नं. ४०६ को २५ रोपनी नौ आना एक दाम मध्ये पूर्वतर्फको कित्ताकाट गरी कित्ता नम्बर १७२३ कायम गरी पाँच रोपनी पाँच आना दुई पैसा एक दाम पञ्चरीषी राईको नाममा दर्ता गरिएको थियो । दोर्पाचिउरीडाँडा–२ घर भएका गाविस सचिव खनालले पञ्चरीषीबाट २०६८ कात्तिक २ गते पाँच आना दुई पैसा क्षेत्रफलको जग्गा सित्तैमा लिएर दश हजार रूपैयाँमा किनेको राजश्व बुझाएका छन् ।
खनालले आफ्नै भाइ युवराज खनाललाई दुई आना जग्गा दुई लाख रूपैयाँमा २०६८ मङ्सिर २७ मा किनाएको खुलासा भएको छ । त्यस्तै दोर्पाचिउरीडाँडा–५ की पबित्रा ढकाललाई दुई लाख रूपैयाँमा दुई आनाका किनाएका छन् ।
पञ्चरीषीबाटै बाक्सिला–८ का राजकुमार राईले छ आना जग्गा २०६८ कात्तिक २ गते दश हजार रूपैयाँमा लिएका छन् । त्यसैगरी बाक्सिला–७ का चन्द्रकुमार राईले पनि तीन आनाका लागि दुई लाख रूपैयाँ तिरेका छन् । उनले २०६८९ मङ्सिर २७ गते पास लिएका हुन् ।
मालपोत कार्यालयको रेडकर्ड अनुसार पञ्चरीषीबाटै सप्तेश्वर–१ का हिमालभक्त राईले दुई आनाका लागि एक लाख ५० हजार तिरेर २०६८ मङ्सिर २६ गते पास लिए । बास्पानी–९ का नारायण राईले चार आनाका लागि तीन लाख तिरेर २०६८ मङ्सिर २७ गते पास लिएका छन् ।
बाक्सिला–७ का चित्रमाया बस्नेतले २०६८ मङ्सिर २७ गते एक लाख ५० हजारमा तीन आना किनेका छन् । बाक्सिला–७ घर भई हाल दिक्तेल–८ बस्ने वीरशोभा राईले भने चार आनाका लागि ५० हजार तिरेका छन् ।
ध्यानसरी राईबाट बास्पानी–८ का बालकुमार राईले (२०६८ चैत १५) तीन लाख रूपैयाँमा दुई आना, बास्पानी–७ का दयाराम कामीले (२०६८ चैत १५) तीन लाख ५० हजार रूपैयाँमा दुई आना, खार्मी–९ का मौलकुमार राई र सुङ्देल–४ का भुवराज निरौलाले (२०६८असोज २९) दुई आना तीन लाखमा, सुङ्देल–८ की कालीशोभा राई र बाक्सिला–६ की दिलकुमारी राईले (२०६८ फागुन १९) दुई आना तीन लाख रूपैयाँमा, खार्तम्छा–६ का तेजबहादुर विकले (२०६८ चैत १५) तीन लाख ५० हजारमा दुई आना किनेको मालपोतको रेडकर्डमा उल्लेख छ । ध्यानसरी राईको नाममा भएको जग्गा तत्कालीन बाक्सिला प्रावि (हाल पृथ्वी उच्च मावि) लाई जगिधन राईले २०३८ सालमा दानपत्र दिएको मालपोतको रजिष्टे«सन नम्बर ३६८ मा उल्लेख छ ।
पञ्चरीषीको नाममा दर्ता गरिएको जग्गा २०२४ साल कात्तिक–५ गते तत्कालीन बाक्सिला प्रावि (हाल पृथ्वी उच्च मावि)लाई तत्कालीन बाक्सिला मानेडाँडा गाउँ पञ्चायत–९ बस्ने परशुराम राई, मकरध्वज राई, भलबहादुर राई, इच्छबहादुर राई, सन्तबहादुर राई, धनबहादुर राई लगायतले चन्दा स्वरूप पुरस्कार दिइ राजिनामा दिएको मालपोतमा उल्लेख छ । त्यसो त विद्यालयको जग्गा अन्यले पनि आफ्नो नाममा दर्ता गराएका छन् ।
विद्यालय पछाडिपट्टीको जग्गा स्थानीय युवराज सुनुवारले दर्ता गराएर घर समेत बनाएका छन् । अन्यले पनि जग्गा दर्ता गराउने कोशिस गरेका छन् ।